अवैध रकमसहित १ व्यापारी र ३ भारतीय समातिए

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा प्रहरीले स्रोत नखुलेको ४ लाख अवैध नेपाली नोटसहित दुई भारतीय र एक व्यापारीलाई वीरगन्जमा पक्राउ परेका छन्।

प्रहरीले पक्राउ गरेका मध्ये एक १८ वर्षीया भारतीय किशोरी पनि छन्।

नेपाली नम्बर प्लेट भएको ना. २९ प ८५९५ नम्बरको मोटरसाइकल चढी भारतबाट स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर नेपाल आउँदै गरेको समयमा वीरगन्जको रजत जयन्ती चोक छेउमा दुईजना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्ने यी दुवैजना भारतको पूर्वी चम्पारण मोतीहारी रक्सौल १० र वडा नम्बर ४ का ४४ वर्षीय सुशीलकुमार शर्मा र १८ वर्षीया सरोजनी कुमारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिनुभयो । उनीहरूले स्रोत नखुलेको रकम वीरगन्ज आदर्शनगरका आकृति कस्मेटिक पसलका साहु राजु अग्रवाललाई दिन हिँडेको भनी बताएपछि निगरानी राख्दा अग्रवाल पनि पसल बाहिर यताउता गरी कसैलाई कुर्दै गरेको जस्तो अवस्थामा पक्राउ परेको उहाँको भनाइ छ।

’स्रोत नखुलेको नेपाली नोटसहित पक्राउ परेका मानिसहरू हुण्डी कारोवारी रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ उहाँले भन्नुभयो । थप अनुसन्धान हुँदै गरेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।

यो भन्दा पहिले पनि एक करोड ४८ लाख बरामद गएको सात महिनामा पर्सा प्रहरी मातहतको प्रहरीले पर्सामा मात्र स्रोत नखुलेको १ करोड ४८ लाख १४ हजार २४४ रुपैयाँसहित ३१ जना कारोवारीलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रकृया अगाडी बढाएको थियो।