विराटनगरमा पाईन्छ २० रुपैयाँमा बासमती चामलको भात ! होमप्याकको पनि व्यवस्था छ !

0
Shares

सरोज यादव, विराटनगर ।

विराटनगरका समाजसेवीहरुले सस्तो,सुलभ भोजनालय संचालनमा ल्याएका छन् । शिवीरमा १० रुपैंयाँमा भरपेट र २० रुपैयाँमा बासमती चामलको भातसहितको होमप्याक खाना उपलब्ध गराईन्छ ।

१० रुपैयाँमै भरपेट दालभात तरकारी र २० रुपैंयामा होमप्याक समेत गरि लान पाईन्छ भनेर भनिरहँदा तपाईलाई विश्वास नलाग्न सक्छ । त्यसमाथि पनि बासमति चामलको भात तथा राजमा,पनिर र काउली जस्ता महँगो मुल्यको तरकारी । महँगि चुलिएर सर्वसाधारणको ढाड सेकाईरहँदा विराटनगरमा भने यस्तै एउटा घुम्ती भोजनालय संचालनमा ल्याइएको छ ।

नगरक्षेत्रको मेनरोडस्थित कालीमन्दिर सामुन्ने संचालनमा ल्याइएको भोजनालयमा १० रुपैंयामा बासमती चामलको तात्तातो भात सहित पौष्टिक र ताजा तरकारी खान पाईन्छ । भोजनालयबाट खाना खरीदगरि खाईरहेका भीमबहादुर अधिकारीले १० रुपैयाँमै बासमती चामलको भात र पौष्टिक तरकारी खान पाउदा आफुलाई युग नै परिवर्तन भएको अभाष भएको प्रतिक्रिया दिनुभयो । यस्तो महँगी जमानामा यतिसस्तो खाना किन्न पाउँदा सत्ययुग नै आएको हो कि भान भएको उहाँको भनाई छ ।

नगरक्षेत्रका केहि समाजसेवीहरुको समुहले घुम्ती भोजनालय संचालनमा ल्याएका हुन । समाजसेवी दिलीप धाडेवा सहित तीनचार जनाको समुहले आफ्नै निजी लगानीमा गएको पुष ९ गतेबाट सस्तो,सुलभ भोजनालय संचालनमा ल्याएका हुन । निम्न आय भएका तथा काम बिशेषले विराटनगर आएका सर्वसाधारणलाई लक्षितगरि भोजनालय संचालनमा ल्याइएपनि जोसुकैलेपनि मुल्य तिरेर खाना किन्नसक्ने भोजनालय संयोजक दिलीप धाडेवाले बताउनुभयो ।

समाजसेवीहरुको समुहमध्येका एकब्यक्तीको कालीमन्दिर सामुन्ने रहेको घरलाई तत्कालकालागि खाना पकाउने स्थानकारुपमा प्रयोग गरिएको छ । दैनिक खाना पकाउनकालागि केहि भान्सेहरु समेत नियुक्त गरिएका छन । सस्तो मुल्यमा खाना किन्न पाइनेभएपछि स्थानिय कालीमन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले भोजनालयबाट खाना किनेर सडक मानवहरुलाई समेत वितरण गर्ने गरेका छन ।

सस्तो भोजनालयलाई आगामी दिनमा थप ब्यवस्थितगर्दै स्थानिय अस्पताल, बसपार्क र सर्वसाधारणको बढी भीड हुने कार्यालय लगायतका क्षेत्रमा समेत विस्तारगर्ने योजना रहेको संचालकहरुले बताएका छन ।

खाना पकाईसकेपछि पकाइएका खानाहरु शुरुमा स्थानिय मन्दिरहरुमा भगवानलाई भोग लगाईन्छ र त्यसपछि मात्र सस्तोमुल्यमा सर्वसाधारणलाई विक्री गरिन्छ ।