अनेरास्ववियू जिल्ला कमिटी गुल्मीको एकता टुंगियो

0
Shares

अनिल खत्री, गुल्मी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू जिल्ला कमिटी गुल्मीको एकता टुंगिएको छ । साविकको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी) र साविकको नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको आपसि समझदारीमा एकता प्रक्रिया टुंगो लागेको हो ।

दुवै संगठनका अध्यक्ष राजेन्द्र विक्रम कुँवर र भरत चन्द संयोजक रहने गरी ३३ सदस्यिय जिल्ला कमिटीको गठन गरिएको छ । जसमा अहिले २५ जना रहेका छन् भने बाँकी आठजना पछि मनोनित हुने संगठनले जनाएको छ ।

एकीकृत भएसँगै अनेरास्ववियूले संगठन विस्तार अभियानलाई पनि तिब्रता दिने जनाएको छ । मदन आश्रित स्मृति भवनमा सम्पन्न जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले आगामी माघ १५ गतेसम्म जिल्लाका सबै माध्यमिक विद्यालय तथा क्याम्पसमा इकाई कमिटी गठन गर्ने निर्णय गरेको छ ।

त्यसका साथै तोकिएको समयमा सम्भव भए स्थानीय तहमा अधिवेसन गरी नेतृत्व चयन गर्ने र सम्भव नभए माघ १५ पछि जिल्ला कमिटी सचिवालयको बैठकले स्थानीय तह र जिल्ला अधिवेशनको मिति टुगां लगाउने निर्णय गरेको छ । हरेक स्थानीय तहमा इकाई कमिटी गठन र अधिवेसन गर्न जिम्मेवारी समेत तोकिएको अनेरास्ववियूका संयोजक चन्दले जानकारी दिए ।

वैठकले प्रत्येक जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यले मासिक रुपमा लेबी संकलन गर्ने, ०७७ सालको भित्तेपात्रो प्रकाशन गर्ने तथा संगठन विस्तारको अभिलेख पठाउने र अध्यावधिक गर्ने पनि निर्णय गरेको छ । सचिवालयले संगठन विस्तार संचालन प्रक्रियामा सहजताको लागि विभिन्न विभाग गठन गरेको थियो ।

जसअन्तरगत प्रशिक्षण विभागमा राजेन्द्र विक्रम कुँवर, आर्थिक विभागमा भरत चन्द, संगठन विभागमा श्रीराम महत, प्रकाशन विभागमा उदय अर्याल, खेलकुद विभागमा नविन अर्याललाई जिम्मेवारी दिइएको छ । प्रचार–प्रसार विभागमा हुमाकान्त पोखरेल, महिला विभागमा लक्ष्मी अर्याल, जनजाति विभागमा बल बहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।