काठमाडौंमा वर्षकै सबैभन्दा चिसोः न्यूनतम तापक्रम ०.६ डिग्री, अझै घट्ने संकेत

सतर्कता अपनाउन सुझाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकाको तापक्रम लगातार घटेको छ । काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । किनभने काठमाडौंमा शनिबार बिहान ८ः४५ बजे गरिएको मापनमा न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।

गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री थियो भने बुधबार न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको काठमाडौंको तापक्रम शनिबार अझै घटेर ०.६ डिग्रीमा झरेको हो ।

दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को प्रक्षेपण छ । मौसमविद्का अनुसार, आज काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म उक्लन सक्छ ।

०.९ डिग्री काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री मापन भएको थियो । बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको थियो । मौसमविद् शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।

महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ । डडेल्धुरा, वीरेन्द्रनगर, दीपायल, ओखलढुंगासँगै ताप्लेजुङमा पनि चिसो बढेको छ । महाशाखाका अनुसार, डडेल्धुरामा १।७, वीरेन्द्रनगरमा २, दीपायलमा ३.५, ओखलढुंगामा ३।५ र ताप्लेजुङमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम छ ।

सतर्कता अपनाउन सुझाव

जाडो बढेसँगै तराई मधेसका जिल्लाको जनजीवन शितलहरका कारण प्रभावित भएको छ । जाडोका कारण जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी बढी प्रभावित हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । जाडोको बेला सकेसम्म घर बाहिर ननिस्कन, न्यानो कपडा लगाएर बस्न, तातो झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने उनीहरुको सुझाव छ ।

कोठाभित्र कोइला, मकल वा हिटर बालेको बेला हावा पास हुने गरी झ्याल खुल्ला राख्नुपर्छ । अन्यथा अक्सिजनको कमी हुँदा मानिसको ज्यानै जानसक्छ ।