सिद्धबाबाको मिसिल अदालतमा, दश वर्षसम्म कैद माग

0
Shares

सरोज यादव, विराटनगर ।

अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मिसिल आज अदालत बुझाइएको छ । प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्ने २५ दिने समय अस्पतालमा बिताएका कृष्णदासलाई बिहीबार साँझ मिसिल सहित जिल्ला अदालत सुनसरी पु¥याइएको हो ।

सवा ४ बजे सरकारी वकिल मार्फत कृष्णदासको मुद्दासँग सम्वन्धित मिसिल अदालतमा बुझाइएको थियो । मिसिल बुझाउनु पूर्व सुनसरी प्रहरीले कृष्णदासलाई भने अदालतमा उपस्थित नगराइने बताएको थियो ।

यद्यपी अदालतले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने बताएपछि प्रहरीले बिराट नर्सिङ होममा रहेका कृष्णदासलाई अदालत पु¥याएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले प्रहरी कार्यालयले दिएको अनुसन्धान रिपोर्टअनुसार गिरीले महिलामाथि करणी गरेको दाबी गर्दै सातदेखि दश वर्षसम्म कैद सजायको माग गर्दै जरबजस्ती करणी मुद्दा दायर गरेको छ ।

गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको सरकारी वकिलको कार्यालय स्रोतले जानकारी दिएको छ । संहितामा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलामाथि करणी भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। त्यस्तै अभियोगपत्रमा पीडित महिलालाई उचित क्षतिपूर्ति दिनसमेत माग गरिएको छ। मुद्दा दायरसँगै शुक्रबार कार्यालय खुलेसँगै गिरीको बकपत्र हुने जिल्ला अदालतले जनाएको छ।

उनी पक्राउ परेपछि बिरामीको बहानामा निरन्तर विराटनगरस्थित विराट नसिङ होममा बसिरहनु भएको छ । उहाँलाई मुद्दा दायर भएपछि बिहीबार पनि विराटनगर अस्पताल फर्काइएको छ। अनुसन्धानका क्रममा प्रहरीले गिरी र पीडित महिलाबीच भएको टेलिफोन संवादको रेकर्ड पनि संकलन गरेको स्रोतको भनाइ छ ।

गिरीले भने महिलासँगको टेलिफोन संवाद नभएको दाबी गर्नुभएको थियो । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिनुभएको थियो । त्यस क्रममा रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन संबाद पीडित भनिएकी महिलाले रेकर्ड गर्नुभएको सार्वजनिक भएको थियो ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबा गिरीकै भएको पुष्टि गरेको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन । कृष्णदासलाई बिहीबार एसी सहितको सुविधा सम्पन्न एम्बुलेन्समा अदालत पु¥याइएको थियो । सुनसरी अदालतले बलात्कार अभियोगमा कृष्णबहादुर गिरी उपरको मिसिल प्राप्त भएको बताउँदै अन्य कार्वाहीको प्रकृया शुक्रबारको कार्यालय समयसँगै सुरु हुने जनाएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी बिनोद शर्माले सरकारी वकिल मार्फत मिसिल अदालत बुझाइएको बताउँदै कृष्णदास उपरको मुद्दामा शुक्रबारबाट थुनछेक सुरु हुने बताउनु भयो । शर्माले सबै रिपोर्ट र अनुसन्धान सहितको मिसिल अदालत बुझाइएको बताउँदै अबको सम्पूर्ण निर्णय अदालतको आदेशमा निहित रहने बताउनु भएको छ ।