प्रहरीकै संरक्षणमा तस्करी 

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर।
कार्यरत तथा पूर्वघुमुवा प्रहरी र कारोबारीबीच सेटिङ् मिलेपछि पूर्वको झापा र इलामका नाकाबाट तस्करी मौलाएको छ। जिल्ला तथा इलाका सुरक्षाकर्मीलाई खुसी पारेर दैनिक लाखौं रुपियाँ मूल्य बराबरको अवैध तरिकाबाट सामान आयत–निर्यात हुँदै आएको हो।

नेपाल–भारतबीच रहेका खुला नाकाका कारण झापाको केचना, ज्ञानेचोक, घोडामारा, पृथ्वीनगर, नाकाबाट कपडा तस्करी हुँदै आएको छ। उता काँकडभिट्टाको मेची भन्सारदेखि केही दक्षिणमा रहेको चिया बगानबाट सुपारी, मरिच र छोगडा भारत पठाउने गरेको पाइएको हो भने सोही क्षेत्रको तिरीङ, नकलबन्दा नाकासमेत प्रयोग हँुदै आएको पाइएको बताइएको छ। दैनिक एक सय पोका कपडा नेपाल छिर्ने गरेको जानकार स्थानीय बताउँछन्।
त्यसैगरी इलामको छब्बिसेबाट भित्री कच्ची बाटो प्रयोग गरी झापाको धुलाबारीमा पिकअप भ्यानमार्फत कपडा आउने गरेको छ भने मुख्य सडकबाट प्रत्येक यात्रुवाहक सवारी साधनमा १ वा २ पोका दैनिक विर्तामोड आउने गरेको छ।

फिकलबाट हिले नाका प्रयोग गरी हर्कटे हुँदै दानाबारीको सडक प्रयोग गरी  विर्तामोड ल्याउने सोही समूहले चुरोट, मरीच, सुकुमेल, मटर भारत पठाउँदै आएको स्रोतको दाबी छ। कारोबारीले दुवैतर्फका प्रहरीका पूर्व तथा कार्यरत घुमुवामार्फत ‘नजरना’ बुझाउने गरेको बताएका छन्।
दैनिक बिहान ५ देखि ९ बजेसम्म भारतबाट कपडा आउछ भने रातीको समयमा मरीच, मटर, सुपारी भारत जाने गरेको छ। अवैध रूपमा आएको सामानलाई वैध बनाएर विर्तामोडबाट केरियर र रात्री बसबाट काठमाडौं जाने गरेकोसमेत पाइएको स्रोतको भनाई छ।

सामान एक सय पिस छ भने कारोबारीले ३० देखि ४० पिसको बिल बनाएर सामान पठाउने गरेका छन्। सबै नाकामा प्रहरी गस्ती र गणबाट पनि अनुगमन भइरहेकोले तस्करी नभएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका प्रवक्ता द्रोर्णविक्रम शाहले दाबी गर्नुभयो।

तस्करी हँुदै गरेको प्रमाण फेला परेमा तत्काल कारबाही गरिने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयो।