सिन्धुलाई आफन्तको जिम्मा लगाइयो, नर्सहरु डाँको छाडेर रोए (भिडियो सहित)

94
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

६ किलो मोड दुर्घटनापछि सिन्धु सदाबहार अस्पतालको हेरचाह र रेखदेखमा रहेकी बालिकालाई बिहिबार आफन्तको जिम्मा लगाइएको छ । दुर्घटनास्थलबाट उद्धार गरि अस्पतालको संरक्षणमा छाडिएकी सिन्धु (अस्पतालले राखेको नाम) लाई बिहिबार उनका मामा सर्लाहीका मैतेसिं लो, उनकी सानीआमा सुकुमायाँ लो र ठूलीआमा चिनमायाँ लो लाई जिम्मा लगाइएको हो ।

सिन्धु सदबहार अस्पतालका अध्यक्ष कमल नेपालले बालिकालाई आफन्तको जिम्मा लगाउनुभयो । जिल्ला प्रहरी कार्यालयमा प्रनाउ माधव प्रसाद काफ्ले, सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल, सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना र स्थानीय अगुवाहरुको रोहबरमा बालिका जिम्मा लगाइयो । अस्पतालका अध्यक्ष कमल नेपाल, संचालक समिति सदस्य तथा अस्पतालका कर्मचारीहरुले बालिकालाई टीका लगाइदिएर आफन्तको जिम्मा लगाइएका हुन् ।

बालिकाको जिम्मा लिएका आफन्तहरुलाई उचित पालनपोषण, हेरचाह गर्नका लागि अस्पताल परिवार र जनप्रतिनीधिले आग्रह गरे । १२ दिनसम्म संरक्षण गरिएकी ६ महिने बालिकालाई पठाइरहँदा सिन्धु सदाबहार अस्पतालका स्टाफ नर्सहरु डाँकै छाडेर रोए । बालिकालाई जिम्मा लगाइरहँदा अस्पतालकी नर्स लक्ष्मी बिक डाँको छाडेर रुन थाल्नुभयो । बिकलाई सम्झाउन कोसिस गर्दै गर्दा सिन्धु सदाबहार अस्पतालकी मेट्रोन सपना शाहका आँखामा पनि आँसु अडिएनन् । र माहोल नै भावुक बन्न पुग्यो । ‘बाह्रदिन सँगै राख्यौं, यो बच्चालाई भोली ठूलो भएपछि देख्न पाउन्नौँ होला’, नर्स लक्ष्मी रुन थाल्नुभयो ।

अस्पतालको अध्यक्ष समेत सहनुभएका लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बालिकाको सुन्दर भविष्यको कामना गर्दै उनको पालनपोषण, शिक्षामा केहि समस्या आइपरे अस्पताल, स्थानी सरकार र संघिय सरकारले आवस्यक सहयोग गर्ने बताउनुभयो ।

मेट्रोन सपना शाहले बालिकाका लागि केहि समस्या परे आफुहरु सदैव सहयोगका लागि तत्पर रहने बताउनुभयो । ‘नयाँ जीवन पाएकी यस बालिकाको मन नदुखाउँनुहोला, केहि परे हामी सहयोगका लागि तयार छौं’, अध्यक्ष नेपालले भन्नुभयो ।