संरक्षणकको अभावमा खण्डहर बन्दै डोटेली दरबार

0
Shares

विमल विष्ट, डोटी।

पुराना डोटेली दरबार दिनानुदिन खण्डहरसँगै लोप हुँदै जान थालेका छन््। जिल्लाको दीपायल सिलगढी नगरपालिका–३ दिपायल, वडा नम्बर ६ सिलगढी स्थित नाचनथलीमा रहेको डोटी गौडा दरबार तथा जोरायल गाउँपालिका–६ निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबारहरू उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको हो।

परापूर्वक कालको डोटी राज्यको दरबार अर्थात मूलगढ हालको डडेल्धुरा जिल्लास्थित अजयमेरुमा थियो। जसलाई अद्यावधि
अजैमिर कोट भनिन्छ। पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हँुदै आएको इतिहासमा उल्लेख गरिएको छ।

दरबार संरक्षण गर्न केही पहल चालिए पनि खासै संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको स्थानीयबासीको आरोप छ। ती दरबारको समयमै उचित संरक्षण तथा सम्बर्द्धन गरिएको भए नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक उल्लेख्य मात्रामा भित्याउन सकिने स्थानीयवासी तथा कांग्रेस नेता घनश्याम पाठकले बताउनुभयो। उहाँले भन्नुभयो– ‘दरबारको संरक्षण गर्ने भन्ने कुरो मात्रै सुनिन्छ तर खासै संरक्षण नगरिँदा पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबार भग्नावशेषमा परिणत हुँदै छन्।’

परापूर्वक कालको डोटी राज्यको दरबार अर्थात मूलगढ हालको डडेल्धुरा जिल्लास्थित अजयमेरुमा थियो। जसलाई अद्यावधि अजैमिर कोट भनिन्छ। पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हँुदै आएको इतिहासमा उल्लेख गरिएको छ। डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दीपायलको पूर्वी भागतिर गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको शासन सञ्चालन हुने गरेको बताइन्छ।

जसलाई अद्यावधि दीपायलकोट भनिन्छ। तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएकाले यो दरबार जीर्ण हँुदै भग्नावशेषका रूपमा परिणत हुन गएको हो। डोटी राजाको मूल दरबार अजैमिर कोटमा हिउँदको समयमा धेरै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दीपायलमा कोट निर्माण भई यहाँबाट डोटेली राजाले शासन गर्ने गरेका राजपुरका स्थानीय तथा ८५ वर्षीय वृद्ध कुवेरजंग शाहले बताउनुभयो।

सन् १४३८ देखि सन् १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रासित तत्कालीन राजा कल्याण मल्लले दीपायलकोटमा राजधानी सारेको विभिन्न सिलालेखमा उल्लेख गरेको पाइन्छ। युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उहाँका भाइ विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो। विष्णु शाही पछि उहाँका जेष्ठ पुत्र पहाडी शाही (द्वितीय) रजौटा भएका थिए।

रजौटा डोटेली साहेब भनिने पदम विक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुख्यौली ज्येष्ठ पुत्रहरू रजौटाका रूपमा विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजंग शाह, शमशेर बहादुर शाह, पदमविक्रम शाह, मोहनविक्रम शाह रही आएको भन्ने भनाइ छ।

यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको थियो। तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए। विसं २०१८ देखि रजौटा प्रथाको अन्त्य भए पनि डोटीको दीपायल राजपुर स्थित शाह खलकमा पुख्यौली ज्येष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडा दशैंमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उहाँका हातबाट टीका ग्रहण गर्ने र उहाँले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जस्को अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाका बताउछन्।

नेपाल एकीकरण पूर्व डोटी राज्यको राजधानी, गोर्खालीबाट परास्त भएपछि अर्थात नेपाल एकीकरणपछि गोर्खालीहरूको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रको रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजन अनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको (सेती महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दीपायल सिलगढी नगर क्षेत्रले विसं २०३८ सालमा नगरपालिका परिणत भएको भएको थियो।

त्यस्तै डोटी दीपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ। जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको छ। राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासका रूपमा प्रयोग हुने भएको थियो।

करिब ४० कोठा रहेको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ। यो ‘मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरू निर्माण भएका थिए। ती घरहरू पनि भत्किन थालेका छन्। बहादुर शमशेर राणा बडा हाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो।

यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुर शमसेर विक्रम् सम्वत् १९९० को दशकमा डोटी गौंणामा भएको यहाँका बुढापाकाहरू बताउँछन्। करिब ४६ रोपनी जमिन त्यति बेला १० हजार रुपियाँमा सिलगढीका सुरत श्रेष्ठलाइ बिक्री गरेको भन्ने सुनेको स्थानीय सिद्धराज श्रेष्ठ बताउनुभयो।