‘सबै धर्मप्रति समान दृष्टिकोण’: मन्त्री बाँस्कोटा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राज्यको कुनै धर्म नहुने भएकाले सबै धर्मप्रति राज्यको समान दृष्टिकोण रहने बताउनु भयो ।

बनेपा–पनौती संयूक्त ख्रीष्ट जन्मोत्सवको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राज्यले धार्मिक आश्थाका आधारमा धर्म, जाति, क्षेत्र विशेष दमन नगर्ने बताउनु भयो । ‘राज्यले धार्मिक आस्थाका आधारमा दमन गर्ने छैन, गरेको पनि छैन, धार्मिक स्वतन्त्रता भएको मुलुकमा समान व्यहार हुन्छ’–संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकलु बाँस्कोटाले भन्नु भयो–‘स्वाधिन देश निर्माणका लागि सरकार प्रतिवद्ध छ ।’

भुगोल, संस्कृति, समुदाय, सम्पदा प्रति राज्यको एउटै मान्यता रहेको मन्त्री बाँस्कोटाले बताउनु भयो । ‘धर्म आफै मानव जातिका विरुद्ध हुँदैन’–मन्त्री बाँस्कोटाले भन्नुभयो–‘राज्यले कुनै एक धर्मलाई मात्र अपनाएको छैन । धार्मिक सहिष्णुताको देश बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक भएकाले कसैप्रति असहिष्णु व्यवहार हुनेछैन ।’

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले सबै धर्मको लक्ष्य प्राप्ती एउटै भएकाले व्यक्तिको सम्मान र जिउने आधार त्यहि लक्ष्यले निर्धारण गर्ने बताउनु भयो । ‘क्रिश्चियन धर्म प्रति आस्था राख्नेहरुको अन्त्यष्टीका लागि भईरहेको समस्या प्रति नगरपालिकाले जग्गा व्यवस्थापन गर्ने योजना बनाएको छ’–नगर प्रमुख बादेले भन्नुभयो–‘सबै धर्म र समुदाय प्रति नगरपालिकाले समान दृष्टिकोण राख्नेछ ।’

क्रिश्चियन समुदायले ब्यहोर्दै आएका विविध समस्या मध्ये अन्त्येष्टी प्रमुख समस्या रहेको सहभागिहरुले बताएका थिए । पाष्टर रुवेन रानाले क्रिश्चियन समुदायका व्यक्तिहरुलाई धार्मिक आश्थाका आधारमा बन्दी बनाएको भन्दै मन्त्री बाँस्कोटासँग गुनासो गर्नु भएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानलाई पुरा गर्न लागिपरेकाले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

कार्यक्रममा बनेपा र पनौतीका ख्रीष्ट समुदायका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको उक्त कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, पास्टर परिच्छेद शर्मा हुमागाई, राचन्द्र विशुन्के, केशवबहादुर राना लगायतले मन्तब्य राख्नु भएको थियो भने गायक विनोद दनुवार, गायिका सुस्मिता राई लगायते गित तथा संगित प्रस्तुत गरेका थिए । जनगणना २०६८ अनुसार जिल्लामा कुल जनसंख्याको १.७८ प्रतिशत अथार्त ६ हजार ७ सय ८३ जनाले उक्त धर्म मान्दै आएका छन् । २०५८ मा उक्त संख्या १ हजार १ सय २८ रहेको थियो ।