सरकारविरुद्धको आन्दोलनमा सहभागी भएकै कारण जर्मनी विद्यार्थीलाई भारत छाड्न आदेश

0
Shares

ऐजेन्सी । भारतमा जारी नागरिकता कानुनविरुद्धको आन्दोलनमा सहभागी भएका एक जर्मनी विद्यार्थीलाई भारत छोड्न आदेश आएको छ । भारतको अध्यागमन विभागले आन्दोलनमा सहभागी भएका कारण उनलाई देश छाड्न आदेश दिएको हो ।

जर्मनी विद्यार्थी ज्याकोब लिडेन्थल भारतमा बसेर फिजिक्स विषयको अध्ययन गरिरहेका छन् । मद्रासको आइआइटी क्याम्पसमा अध्ययनरत लिडेन्थललाई सरकारविरुद्धको आन्दोलनमा सहभागी भएकै कारण सो आदेश लिइएको हो ।

अध्यागमन विभागले उनलाई देश छाड्न आदेश दिएपछि उनले भारत सरकार नाजी चरित्रको भएको बताउँछन् । भारत सरकारले आफूमाथि लगाएको प्रतिबन्धविरुद्ध बोल्दै लिडेन्थल भने नैतिक समर्थन गर्दै आन्दोलनमा सहभागी भएको बताएका छन् । अबको अध्ययन जर्मनीमै गएर पुरा गर्ने लिडेन्थलले बताए ।

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो । हालसम्म प्रदर्शनमा २० भन्दा बढीको मृत्यु भइसकेको छ ।