काभ्रेमा शुरु भयो ‘सामी’ परियोजना

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन शुरु भएको सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यान्वयनका लागि सेवा प्रदायक संस्था र कार्यक्रम कार्यान्वयन हुने स्थानीय तहहरुबीच सम्झौता भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, मण्डनदेउपुर नगरपालिका, भुम्लु र रोशी गाउँपालिकामा उक्त कार्यक्रम लागु हुनेछ । सोहि स्थानीय तहहरुमा कार्यक्रम संचालन गर्ने गरी जिल्लामा रहेको दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) ले अनुमति प्राप्त गरेको छ ।

कार्यक्रम संचालनका लागि भएको प्रतिस्पर्धामा सिविक फोरमले उच्च नम्वर प्राप्त गरी छनौट भएको थियो । बुधबार साझेदार संस्था र स्थानीय तहहरु बीच सम्झौता भएको हो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्ताैला, प्रमुख प्रशासकिय प्रमुखहरु तारानाथ लुईटेल, प्रणराज न्यौपाने, डम्बरु दाहाल, मदन बजगाई र साझेदार संस्थाका कार्यकारी निर्देशक बसन्त कुँवर लगायतले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । सोहि कार्यक्रममा सहभागिहरुले कार्यक्रम कार्यान्वयनका लागि प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने परियोजनाको उदेश्य रहेको छ । स्विजरल्याण्ड र नेपाल सरकार बीच भएको सम्झौता अनुसार तेश्रो चरणमा ३९ वटा जिल्लाका १ सय ५६ वटा स्थानीय तहमा उक्त कार्यक्रम लागु हुनेछ । १६ सेप्टेम्वर २०१८ बाट शुरु भएको उक्त कार्यक्रमको तेश्रो चरण २०२२ जुलाई सम्म संचालन हुनेछ । नेपाली कामदार र तिनका परिवारहरुलाई सीपयुक्त जनशक्तिको विकास, सुचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका बारेमा जानकारी गराईनेछ ।

उक्त परियोजना मार्फत बैदेशिक रोजगारमा जान चाहनेहरुलाई १० वटा तालिम केन्द्रहरु मार्फत सीप उपलब्ध गराईनेछ । तालिम लिनेहरुका लागि निशुल्क तालिमका साथै खान र बस्ने ब्यवस्था हुनेछ । कार्यक्रम लागु भएका जिल्लाका स्थानीय तहहरुमा ५ हजार ७ सय ब्यत्तिलाई सीपयुक्त तालिम, सूचनामा पहुँच ९ लाख, १५ हजारलाई न्यायमा पहुँच, ५४ हजार ३ सयलाई मनोसामाजिक परामर्श र ४६ हजारलाई वित्तिय साक्षरता उपलब्ध गराईनेछ ।

सम्झौतामा परियोजनाका तर्फबाट हेल्भेटासका परियोजना संयोजक तरुणकान्त अधिकारी, सामी परियोजनाका कमल रोकाया, धुलिखेल नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतम लगायतको सहभागिता रहेको थियो ।