स्थानीयको श्रमदान र चन्दाबाट प्रहरीलाई १५ लाख बराबरको भवन हस्तान्तरण

0
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयवासीले प्रहरी चौकी तालखर्कलाई सुविधासम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । स्थानीयवासीको श्रमदान तथा चन्दा सङ्कलन गरी रु १४ लाख ७५ हजार ८९७ लगानीमा निर्माण गरिएको तीनकोठे भवन मङ्गलबार प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

करीब पाँच महिना लगाएर निर्माण गरिएको भवनमा शौचालय, भान्छाघर, बिजुलीबत्ती, खानेपानी, निःशुल्क इन्टरनेट सेवालगायत रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम पुरीले बताउनुभयो । भाडाको घरमा सञ्चालन हुँदै आएको प्रहरी चौकीका लागि स्थानीय भूपाल पुरीले एक र शुभम् फाउण्डेशनले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि श्रमदान र चन्दा सङ्कलनबाट भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि समुदायको रु छ लाख ८८ हजार ७९२ श्रमदान तथा नगरपालिकाको जस्तापाता, काठ र दक्ष कामदार ज्यालावापत रु छ लाख ३५ हजार लगानी रहेको जनाइएको छ । नवनिर्मित प्रहरी चौकी भवन नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगरउपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक भोला गिरीलगायतले स्थानीयवासीलाई धन्यवाद दिनुभयो ।