भारतद्वारा पुल अवरुद्ध गर्दा उपभोग्य वस्तुहरुको अभाव


सरोज यादव, विराटनगर ।

पूर्वका उद्योगी ब्यवसायीहरुले भारतको वथनाहस्थित मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा उद्योग व्यवसाय ठप्प हुने अवस्थामा रहेको बताएका छन । पटक पटकको पहल गर्दा पनि सम्बन्धित निकायबाट पहल नभएपछि आफूहरु निरास भएको उनीहरुले बताएका छन ।

सिमावर्ती भारतीय बजार जोगबनी छेउमा अवस्थित जिर्ण अवस्थामा रहेको मीरगञ्ज पुल मर्मतको क्रममा रहेको र मर्मत कार्य पुरा हुन कम्तीमा तीन देखि चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी गराएपछि उनीहरु थप निरास भएका छन । निर्माण पश्चात् पनि उक्त पुलको भार क्षमताका कारण अवरोध हुने अवस्था कायमै रहने उद्योगी ब्यवसायीको भनाई छ ।

उद्योग संगठन मोरङ र मोरङ ब्यापारसंघले मंगलबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले तत्कालिक समाधानकालागि विगतमा झैँ सुनसरीको भीमनगर नाकाबाट आयात निर्यातका मालवाहक साधनहरु रि–रुट गरेर ल्याउने व्यवस्थाकालागि सम्बन्धित निकायमा पहल गरिरहेको बताएका छन । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दिर्घकालिन समाधानकालागि आई.सी.पी. जोगबनी जोड्ने आर.सी.सी. पुलको निर्माण कार्यलाई पनि शिघ्रता दिईनु पर्ने माग गर्नुभयो । उहाँले हालको यस पुलमार्फत मालवाहक सवारी साधनहरुको आवत जावत पूर्ण रुपले ठप्प हुँदा भारत तर्फ मात्र पनि करिब ५ हजार सवारी साधनहरु अलपत्र पर्ने स्थिति रहेको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा २ हजार भन्दा बढी मालवाहक सवारी साधनहरु लामबद्ध भई सकेको बताउनुभयो । जसको डिटेन्सन र डेमुरेज चार्ज मात्रै प्रति दिन १ करोड रुपैयाँ र साथै उद्योगको उत्पादकत्व क्षमता विभिन्न अभावले गर्दा घट्न गई अरबौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सृजना भएको बताउनुभयो । पुलकै कारण दैनिक उपभोग्य वस्तुहरुको अभाव हुने प्रवल सम्भावना देखिएको पनि उहाँले बताउनुभयो ।

नेपालको दोश्रो ठूलो नाका र मोरंग–सुनसरी कोरिडोरको एक मात्र प्रवेशद्वारको रुपमा रहेको यो पुल, दुई वर्षअघि यही अवस्था सिर्जना हुँदा आठ महिनासम्म सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले जेनतेन उद्योग व्यावसायलाई जोगाएका थिए । ‘पत्रकार सममेलनमा पटक-पटक विभिन्न निकायहरुमा पहल पैरवी गर्दा समेत कुनै ठोस कदम चालिएको देखिएन’ मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो ।

उहाँले नेपाल सरकारको कुटनितिक पहलकालागि परराष्ट्र मन्त्रालय, भारतीय राजदुतावास–काठमाण्डौँ, नेपाली राजदुतावास दिल्ली, भारतका हाई वे डिभिजनहरु लगायत विभिन्न मन्त्रालयहरुमा पहल गर्दा पनि कुनै ठोस काम नभएको अवस्था रहेको बताउनुभयो । मिरगञ्ज पुलको छेउमा बन्दै गरेको आर.सी.सी. पुलको निर्माण कार्य सन २००८ मा शुरु भएतापनि हालसम्ममा चार वटा पिलर मात्र अर्ध रुपमा निर्माण भएका छन ।

मिरगञ्ज पुल सुचारु नहुँदा पूर्वका उद्योगी व्यवसायीहरूलाई दैनिक करोडौंकाे नोक्सानी भएको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण केही धसिएको पुल त्यसयता पटक-पटक अबरुद्ध हुँदै आएको छ । त्यसयता यो पुलबाट मालबाहक सवारी साधन आवत-जावतमा रोक लगाइएको छ ।