उर्वर पिन्थली, संकटमा कपास उद्योग

0
Shares

मोतीराम तिमल्सिना, पिन्थली, काभ्रे ।

दुई दशक अघिसम्म रोशीगाउँपालिकाको मंगलटार पिन्थलीमा कपास प्रशोधन गर्ने कारखाना चल्थ्यो । कपासका रुखहरु हरेक घरमा हुन्थ्यो । प्रविधिको विकास, सडकको सहज पहुँच, युवाहरु विदेश पलायन जस्ता कारणले जन्म देखि मृत्युसम्म आवश्यक कपास संस्कृति लोप भएको छ ।

७० बर्षिय अश्विनी लामासँग ६० वर्ष अघि बुनेका कपासका कपडाहरु छन् । अश्विनीको सासु दमैस्या लामाले २० वर्ष अघि बुनेका कपासका पटुका, सिरक, डस्ना लगायत ब्यक्तिले लगाउने सबै थरी कपडाहरु सुरक्षित मात्रै छैनन हरेक समय उहाँ कपासबाटै बुनेका कपडाहरुको प्रयोग गर्नु हुन्छ । अश्विनीको घरमा रहेको कपास प्रशोधन गरी कपडा बुन्ने कारखाना अझै छ ।

कपासको रुख समेत घर अगाडी जोगाईएको छ । बत्ति काट्न समेत सोहि रुखको कपास प्रयोग गरिन्छ । खर्चका हिसावले महङ्गो पर्ने तर घर आँगनमै उत्पादन हुने कपास लोप हुँदै गएको उहाँले बताउनु भयो । ‘बुढी भएपछि आँखा देख्दिन, सासु, ससुरा र श्रीमान समेत वित्नु भयो’–अश्विनीले भन्नु भयो–‘छोरा छोरीले यो ब्यवसायलाई अगाडी बढाउन रुचाएनन् ।’

८० वर्षको उमेरमा ससुरा काईला लामा वित्नु भयो भने ६५ वर्षको उमेरमा श्रीमान हर्कबहादुर वित्नु भयो । दमका कारण बाबु छोराको निधन १७ दिनको फरकमा भयो । सासु, ससुरा र श्रीमानले शुरु गरेको ब्यवसायलाई अश्विनीले निरन्तरता दिन सक्नु भएन । तर उहाँले बाँध्नु भएको पटुका, अन्य कपडाहरु त्यसै बेला बुनिएका थिए ।

कपास उद्योग संस्कृति थियो । तामाङ समुदायका ब्यक्तिहरुको निधन हुँदा अन्त्येस्टीका लागि सोहि कपासको लामो कपडा प्रयोग गरिन्थ्यो ।

त्यसका लागि पनि सबैका घरमा त्यो खालको कपडा बुन्ने गरिएको थियो । ब्यक्तिले प्रयोग गर्ने कपडाको अलावा अन्त्येष्टीका बेला आवश्यक पर्ने कपडाहरुका लागि कपास संस्कृतिसँग जोडिने गरिएको थियो । ब्यक्ति जन्मदा प्रयोग गर्ने कपासको बत्ति देखि मृत्युसम्म प्रयोग गर्ने कपास संस्कृति पिन्थलीमा लोप भएको छ । अहिले कसैले पनि त्यस्तो ब्यवसाय गर्दैन ।

हरेकका घरमा बजारबाट पुग्ने कपडाहरुको प्रयोग हुन्छ भने कपास खेति पनि नष्ट भएको छ । विक्री वितरण नै नभए पछि त्यसको खेति गर्न छाडिएको अश्विनीले बताउनु भयो । पिन्थली माईति भएकी सेतिमाया लामाले पनि २० वर्ष देखि आफुले उक्त पेशा छाडेको बताउनु भयो । त्यतिबेला एउटा पटुकाको २५ रुपैयामा विक्री गरिन्थ्यो । हिरामायाले एक वर्षमा पटुका मात्रै ६० वटा बुन्नु भएको थियो । २५ वर्ष अघि बुनेर लगाएको पटुका अहिले पनि जस्ताको तस्तै रहेको उहाँले बताउनु भयो ।

एउटा पटुका बुन्न ३ तीन विताउनु पर्दथ्यो । तत्कालिन राजा विरेन्द्रले समेत पिन्थलीमा बुनेको कपासको कोट लगाउनु भएको हिरामायाले बताउनु भयो । ‘पिन्थलीबाट श्रीमान विरेन्द्र राजाका लागि कपासको कोट,सानो पटुका र अन्य कपडाहरु उपहार पठाईएको थियो’–हिरामायाले भन्नु भयो–‘एउटा कार्यक्रममा उहाँले पिन्थलीमा बुनेको कपासको कोट भनेर देखाउनु भएको कुरा हामीलाई सुनाईएको थियो ।’

उर्वरभुमी, जाँगरिला पिन्थलीबासी

२०१६ सालबाट सिंचाई शुरु भएको पिन्थलीको जमिन उर्वर छ । उर्वरभूमिमा आँट देखि आँपसम्मका फलफुल उत्पादन हुन्छन भने तरकारी, तरकारीको विउ उत्पादन देखि हरेक किमिसका अन्न उब्जनी हुने गरेका छन् । ‘सडक नहुँदा घोडामा ३० मुरी धान विक्री गर्न लैजाने गरिएको थियो’–स्थानीय हिरामाया लामाले भन्नुभयो–‘अहिले पनि यहाँको उत्पादन घटेको छैन ।’

उत्पादन बृद्धीका लागि रोशी गाउँपालिकाले कृषकहरुका लागि प्लास्टिक टनेल, तरकारीका विउ, कृषि प्राविधिक सहयोग र औजारहरु उपलब्ध गराएको अध्यक्ष डिबी लामाले बताउनु भयो । वडा अध्यक्ष जनम लामाले कृषियोग्य जमिन पिन्थली रोशी गाउँपालिकाकै नमुना हुने बताउनु भयो ।

एउटै पाटोमा साग, लसुन, मुला, धनियाँ, बोधिचित्त, सिमी, प्याज, छ्यापी, आलु लगायतका तरकारी उत्पादन हुने गरेको छ । २४ सै घण्टा १२ महिना नै उतिक्कै मात्रामा पानी उपलब्ध हुने भए पछि कृषकहरुले उत्पादनमा जोड दिएका हुन् ।

तरकारी उत्पादनसँगै आयस्तर बृद्धी भएकाले पिन्थलीबासीहरु अधिकाशंको शहरी क्षेत्रमा जग्गा, घर छ भने परिवारका सदस्यहरु सम्पन्न अवस्थामा छन् । शिक्षासँगै चेतनाको विकास भएको छ ।