पत्रकार खशोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्ड, तीन जनालाई २४ वर्ष जेल सजाय

0
Shares

ऐजेन्सी, साउदी ।

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न पाँच जनालाई साउदी अरबको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

हत्यामा संलग्न अन्य तीन जनालाई भने अदालतले २४ वर्षको जेल सजाय सुनाएको छ । खशोग्गीको गत वर्ष इस्तानबुलमा रहेको साउदी कन्सुलेटको कार्यालयमा साउदी एजेन्टहरुको एक टोलीले हत्या गरेको थियो ।

हत्यामा साउदी राजकुमार मोहमद बिन सलमानको हात रहेको कुरा समेत बाहिर फैलिएको थियो । उक्त आरोपलाई राजकुमार सलमानले भने खण्डन गरेका थिए । तर अक्टोबरमा साउदी अरेबियाको नेताको हैसियतले साउदी सरकारका लागि काम गर्ने व्यक्तिहरुले घटना घटाएको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी लिने सलमानले बताएका थिए । खशोग्गीलाई अन्तिम पटक सन् २०१८ अक्टोबरमा टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्यिक दूतावास बाहिर देखिएको थियो । टर्कीले साउदी अरबमाथि दूतावासमा जमाल खशोग्गीको हत्या गरेको आरोप लगाएको थियो । तर उनको लाश त्यहाँ भेटिएको थिएन ।

अमेरिकी जासुसी एजेन्सी सीआईए र पश्चिमी देशका सरकारहरुले भने साउदी राजकुमारकै आदेशमा खशोग्गीको हत्या भएको आरोप लगाएका थिए । यस अघि खशोग्गी हत्या प्रकरणमा टर्कीले साउदी अरबबाट १८ जना संदिग्धहरुलाई प्रत्यार्पित गर्ने कुरा पनि उठाएको थियो । तर साउदीले टर्कीको यो मागलाई खारेज गरेको थियो । यसै वर्षको जनवरीमा खशोग्गी हत्या प्रकरणमा रियादमा ११ जना अभियुक्तमाथि मुद्दाको सुनुवाइ सुरु भएको थियो ।

पत्रकार खशोग्गीको हत्यालाई लिएर अन्तर्राष्ट्रियस्तरमा नै कडा आलोचना भएको थियो ।