निजगढमा विमानस्थल बनाउनै पर्छः मन्त्री भट्टराई

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल बनाउनै पर्ने देखिएको बताएका छन् ।

सोमबार नेपाल भ्रमण वर्षका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उनले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ अत्यावश्यक रहेको बताएका हुन् ।

सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ । सरकारले पर्यटन पूर्वाधारलाई प्राथमिकता राखेको भन्दै हवाइ पूर्वाधारबिना पर्यटक आगमन बढाउन नसकिने मन्त्री भट्टराईले उल्लेख गरे ।उनले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई भ्रमण वर्षमा सक्रिय सहभागी हुन आह्वान गरे ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गरे ।

यस्तै मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले नेपाल भ्रमण वर्षबारे बुकलेट उपलब्ध हुनसके प्रवर्द्धनमा सहयोग गर्न सकिने बताइन ।

नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलाई जनवरी १ मा हुने नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन आग्रह गरे ।