प्रहरी साझेदारी कार्यक्रममा सडक सुरक्षा अन्र्तक्रिया

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

जिल्ला प्रहरी कार्यालय दोलखाले शुक्रवार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन विषयक अन्र्तक्रिया आयोजना गरेको छ ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले प्रहरीको हरेक गतिविधिमा समुदायको साझेदारी रहन सक्यो भने अपराध नियन्त्रणसंगै ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने बताउनु भयो ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा राय सुझाब सङ्कलन, सरोकारवाला निकायसंग समन्वय र सहकार्य, सडक दुर्घटना न्युनिकरण, समुदाय र प्रहरी बीच सुमधुर सम्बन्ध कायम गर्ने र सडक सुरक्षामा सरोकारवाला निकायलाई जिम्मेवार बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा दोलखाका ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक (सई) गोकर्ण नेपालले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सो अबसरमा ट्राफिक प्रमुख नेपालले दोलखा जिल्लामा कालोपत्रे पिच सडक एक सय ४५ किलो मिटर, ग्राभेल सडक २८.५ किलो मिटर र कच्चि सडक तीन सय १२ किलो मिटर रहेको जानकारी गराउनु भयो ।

दोलखा जिल्लामा सडक दुर्घटनामा परी आर्थिक बर्ष ०७३/०७४ मा ११ जना, ०७४/०७५ मा १७ जना, ०७५/०७६ मा १० जना र आर्थिक बर्ष ०७६/०७७ को मंसिरसम्म ६ जनाको ज्यान गएको प्रहरी नायव निरीक्षक नेपालले बताउनु भयो ।

त्यसैगरी सडक दुर्घटनामा परी आर्थिक बर्ष ०७३/०७४ मा २४ जना, ०७४/०७५ मा २९ जना, ०७५/०७६ मा १८ जना र आर्थिक बर्ष ०७६/०७७ को मंसिरसम्म १३ जना घाईते भएको प्रहरी नायव निरीक्षक नेपालले बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले बिभिन्न सवारी कार्वाहिबाट आर्थिक बर्ष ०७३÷०७४ मा नौ लाख ८६ हजार पाँच सय, ०७४/०७५ मा नौ लाख ६५ हजार, ०७५/०७६ मा नौ लाख ७७ हजार पाँच सय र आर्थिक बर्ष ०७६/०७७ को मंसिरसम्म तीन लाख ६३ हजार चार सय राजश्व सङ्कल गरेको ट्राफिक प्रमुख नेपालले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ, सदरमुकाम चरिकोटमा रहेको बिभिन्न टोल सुधार समितिका पदाधिकारी, यातायात व्यवसायी, यातायात मजदुर लगायतको सहभागिता रहेको थियो ।