वीरगन्जका स्वास्थ्य संस्थामा कमिसनको चक्कर

0
Shares

कृष्णउदास खनाल वीरगन्ज ।

वीरगन्जको नारायणी अस्पतालमा आइतबार पर्साको जीराभवानीकी शर्मिला थारु ऋाफ्नो पाँच बषर््ीय छोराको रगत जाँचका लागि भौंतारी रहेकी थिइन् । उनलाई डाक्टरले एक प्रयागशालमा पठाएका थिए तर त्यहाँ महँगो भएपछि उनी अली सस्तो ल्याब खोज्दै थिइन् । वीरगन्ज निजी अस्पतालसमेतमा मधुमेह सहित अन्यको रगत परिक्षण शुल्क स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेभन्दा चार गुणा बढी शुल्क रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रु २५ मात्र शुल्क निर्धारण गरेको छ । तर सरकारी अस्पताल नारायणीको प्रयोगशालाले पनि रु एक सय लिने गरेको छ ।सरकारी अस्पतालले नै मन्त्रालयको आदेश पालना नगरेपछि यहाँका निजी अस्पताल र प्रयोगशालाहरूले मधुमेहको परीक्षण शुल्क मनोमानीरूपले लिने गरेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ब्लड कल्चर रु १२५, पिसाब जाँच रु २५ मा मात्र हुन्छ । तर वीरगन्जमा सोही परीक्षणको तीन गुना बढी शुल्क लिइने गरिएको छ । प्रयोगशालामा एचआइभी परीक्षण रु १५० मा गरिन्छ भने वीरगन्जमा रु ५०० सय तिर्नुपर्छ । राष्ट्रिय प्रयोगशालामा रु ५०० मा थाइराइड परीक्षण हुन्छ तर वीरगन्जमा रु पन्ध्र सयसम्म लिने गरेको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २८० भन्दा बढी विभिन्न परीक्षणको शुल्क निर्धारण गरेको छ तर वीरगन्जका कुनै पनि प्रयोगशालाले शुल्क निर्धारण गरेको पाइएको छैन । वीरगन्जमा यसो नहुनुको मुख्य कारण परीक्षण शुल्कमा चिकित्सकहरूको कमिशन समावेश हुनु हो ।चिकित्सकहरूले प्रयोगशालामा बिरामीलाई विभिन्न रोगको परीक्षण गर्न लेखी पठाएबापत सबै प्रयोगशालाको चिकित्सकलाई दिने कमिशनको रेट भिन्दाभिन्दै छ । कम्तीमा तीस र बढीमा सत्तरी प्रतिशत कमिशन चिकित्सकले लिने गरेको प्रयोगशाला सञ्चालकहरूको भनाइ छ ।चिकित्सकलाई कमिशन दिनुपर्दा सोको मार बिरामीले भोग्नुपरेको उनीहरूको भनाइ छ ।

क्लिनिक सञ्चालन गरेका चिकित्सकहरूले सबैभन्दा बढी कमिशन बुझ्ने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कार्यक्षमता अनुसार प्रयोगशालाहरूलाई पाँच श्रेणीमा वर्गीकरण गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता रहेको ‘ए’ श्रेणीको प्रयोगशाला वीरगंजको मङ्गलम डाइग्नोस्टिक सेन्टर हो ।

यसबाहेक ‘बी’ श्रेणीमा भिजन डाइग्नोस्टिक, तराई हस्पिटल एन्ड रिसर्च सेन्टर, नारायणी सेन्ट्रल डाइग्नोस्टिक लेबोरेट्री, ‘सी’ श्रेणीमा एनएमसी पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, वीरगंज ओम हस्पिटल प्रालि र ‘डी’ श्रेणीको प्रयोगशालामा इलाइट प्याथोलोजी ल्याब, ओम प्याथोलोजी सेन्टर, अर्चिता डाइग्नोस्टिक सेन्टर, अर्पिता डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर र श्रीराम डाइग्नोस्टिक सेन्टर छन् । यीबाहेक वीरगंजमा सबै ‘ई’ श्रेणीका प्रयोगशालाहरू हुन् ।सबै प्रयोगशालाले वर्गीकरण अनुसार सेवा र शुल्क निर्धारण गर्नुपर्छ । यसको नियमन जिल्ला जनस्वास्थ्य कार्यालयले गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ ।