ट्रम्पविरुद्धको महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन दलको दाबी

0
Shares

वासिङ्टन डिसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताउनुभएको छ ।

सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताउनुभएको हो । उहाँले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भन्नुभएको छ ।

साथै उहाँले यस कार्यलाई विपक्षीहरुले गरेको एउटा अनुचित काम भएको पनि भन्नुभएको समाचारमा जनाइएको छ ।

तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ । तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताउनुभयो ।

उहाँले अहिले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताउनुभयो । तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।

उता रिपब्लिकनका अरु पनि केही नेताहरुले अमेरिकका प्रजातान्त्रिक संस्थाहरूमा नै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी पनि गराएका प्राप्त समाचारमा जनाइएको छ ।

तर यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आउनुभएको छ । उहाँको यो अभियोग अब त्यसबारेको सुनुवाइको सामनाका लागि माथिल्लो सदनमा जानेछ ।

सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ । यस कारण पनि राष्ट्रपति ट्रम्पलाई शक्तिबाट हटाइन सक्ने कुनै पनि सम्भावना देखिँदैन ।

तर अमेरिकाको इतिहासमा सिनेटमा यस्तो अभियोगको सुनुवाइको सामना गर्नेमा राष्ट्रपति ट्रम्प तेस्रो राष्ट्रपति बन्नुभएको छ । उहाँले यस प्रक्रियालाई आफ्ना विरुद्धमा गरिएको एक किसिमको ठूलो छलकपट हो भन्नुभएको छ । एएफपी