मामाले नै गरे भाञ्जा–भाञ्जीको अपहरण र फिरौती माग

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

अपहरण गरी वन्धक बनाएको आरोपमा मकवानपुर प्रहरीले पक्राउ गरेका ५ जनालाई अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको छ ।

अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई प्रहरीले बिहीबार म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरेको थियो । अदालतका न्यायाधीश कमलराज बिष्टको एकल इजलासले पाँचै जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न ७ दिन म्याद थप गरेको हो ।

अपहरणका नायक मानिएका काठमाडौं महानगरपालिका–३, पुरानो बानेश्वर बस्दै आएका २४ वर्षीय आशीष सिजापतीसहित प्रहरीले कञ्चनपुर श्रीपुर–६ की २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाउँपालिका वडा नम्बर–६ का कृष्ण गुरुङ, सोही गाउँपालिका–४ का बा. २ ज ५३५६ नम्बर ट्याक्सी चालक आशीक लामा र बन्धक बनाएर राखिएको घरधनी हेटौंडा–९, लामसुरेकी ३६ वर्षीया सरस्वती तामाङलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई रामेछापको दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापामगरलाई वन्धक बनाएर हेटौंडाकी तामाङको घरमा राखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

बुधबार विहान करिब ३ः३० बजे हेटौंडा–४ स्थित बा. २ ज ५९५ नम्बर ट्याक्सी अमलेखगञ्जबाट काठमाडौं जान लाग्दा बा. २ ज ५३५६ नम्बर ट्याक्सीमा आएका सिजापती, धामी, गुरुङ, ट्याक्सीचालक लामाले बा. २ ज ५९५ नम्बर ट्याक्सीमा सवार मगरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

बा. २ ज ५९५ नम्बर ट्याक्सी रोकी ट्याक्सीमा सवार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा–९ बस्ने वर्ष २८ का सरोज सापकोटालाई कुटपिट गरी घाइते बनाइएको थियो । सोही ट्याक्सीका यात्री रामेछापको दोरम्बा–५ बस्ने वर्ष २१ का थापामगरलाई अपहरण गरी बा. २ ज ५३५६ नम्बर ट्याक्सीमा राखी तामाङको घरमा वन्धक बनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब १२ः३० बजे अपहरितलाई सकुशल मुक्त गरी अभियुक्तहरुलाई पक्राउ गरेको मकवानपुरका एसपी सिंहले बताउनुभयो ।

वन्धक बनाइएकालाई तामाङको घरमा प्रहरीले अपहरणमा परेको करिब ८ घण्टापछि मुक्त गराएको हो । अभियुक्तहरुलाई अपहरण तथा शरीर वन्धक कसुरमा १० वर्षदेखि १५ वर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको एसपी सिंहले बताउनुभयो ।

मकवानपुर प्रहरीले हेटौंडामा अपहरणमा परेका पीडित थापासँग बयान लिँदा आशीषले लेनदेनको विषयलाई लिएर रकम माग गरेको फेला परेको एसपी सिंहले जानकारी दिनुभयो ।

सिजापतीसहितलाई पक्राउ गरेपछि अर्को रहस्य खुलेको छ । अपहरण आरोपी आशीषको नेतृत्वमा दुई दिनमा दुई अपरहणको रहस्य बाहिर आएको हो । ट्याक्सीमा आएका एक समूहले कुटपिट गरी घरेलु हतियार देखाएर नरेश थापालाई अपरहण गरेको खबर पाउनासाथ मोबाइलको लोकेसन ट्रयाकिङ गरेर पक्राउ गरियो ।

प्रहरीका अनुसार सोमबार साँझ आशीषले १५ र १४ वर्षका बालिकाहरु, १४ वर्षीय एक बालकलाई काठमाडौंको सामाखुसी चोकनजिकबाट उनको परिवारलाई ३ लाख रुपियाँ फिरौती मागेको थियो । फिरौतीको दुई दिनपछि उनका परिवारले प्रहरीलाई फिरौतीको धम्की र अपरहणको कुरा सुनाएका थिए ।

उनीहरुले बालबालिकालाई अपहरण गरी ३ लाख रुपियाँ फिरौती माग गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका–९, शान्तिटोलस्थित होटल ब्लुस्टारको कोठा नम्बर–४०४ भित्र बच्चाहरुलाई वन्धक बनाएर राखेको अबस्थामा फेला पारेर मगर र होटल सञ्चालकसमेतलाई पक्राउ गरेको हो ।

ती बालबालिकाकी आमा मंसिर २८ गते बच्चाहरुलाई सामाखुसीस्थित कोठामा आफन्तले रेखदेख गर्ने गरी छाडेर आफू काम विशेषले पोखरा गएकी थिइन् । मंसिर ३० गते कैलाली धनगढी घर भएका सिजापतीले ‘तिम्रो ममीले तिमीहरुलाई होटलमा लगेर राख्नु भनेको छ’ भन्दै स्कुल जान लागेको बच्चाहरुलाई होटल ब्लुस्टारमा वन्धक बनाएको प्रहरीले जनाएको छ ।

बच्चाहरुलाई वन्धक बनाइएपछि सिजापतीले मंगलबार बच्चाहरुकी आमालाई बच्चाहरुकै नम्बरबाट फोन गरी ‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, ३ लाख फिरौती दिएमात्र पठाउँछु’ भने ।

पीडितले आशीष चिनजानकै मान्छे भएको र बच्चाहरुले पनि ‘मामा’ साइनो लगाउने हुँदा विश्वास नगरी बुधबार आफैं काठमाडौं आएर हेर्दा छोराछोरी फेला नपरेपश्चात् बच्चाहरु अपहरणमा परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएकी थिइन् ।

पक्राउ परेका मगरलाई सोधपुछका क्रममा आशीष मंगलबार काठमाडौंबाट २ जनालाई अपहरण गरेको सम्बन्धमा हेटौंडामा पक्राउ परेपछि बच्चाहरुको रेखदेखका लागि मगरलाई राखेको अनुसन्धानको क्रममा खुल्न आएको छ । मगरउपर अपहरण तथा शरीर वन्धक मुद्धामा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।