काठमाडौ विश्वविद्यालयको २५ औं दीक्षान्त समारोहः हालसम्म ३१ हजार ९ सय विद्यार्थी दीक्षित

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौँ विश्वविद्यालयको पच्चीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम आज शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ ।

दीक्षान्त समारोहमा आटर््स्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स विधाका विद्यार्थीहरू दीक्षित भएका छन् । मेडिकल साइन्सका विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रममै दीक्षित गराइएको भए पनि बीपीटी (ब्याचलर अफ फिजियोथेरापी) का १२ जना स्नातक समेत दीक्षित भएका छन् । दीक्षित भएका मध्ये १६ जना पीएचडी र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ५ सय ४६ जनाले उपाधि लिएका छन् । त्यस मध्ये आर्ट्स्का २ सय ११, एजुकेसनका १ सय ६८, इन्जिनियरिङका ३ सय ७१, लका ४१, म्यानेजमेन्टका ४ सय ८३ र साइन्सका २ सय ६० जना रहेका छन् । दीक्षित भएका मध्ये पुरुष ८ सय ६७ र महिला ६ सय ७९ जना छन् ।

प्रतिशतका आधारमा पुरुषको प्रतिशत ५६.०८ र महिलाको प्रतिशत ४३.९२ रहेको छ । समारोहमा उत्कृष्ट विद्यार्थी चारजनालाई चान्सलर स्वर्ण पदक, भाइस चान्सलर स्वर्णपदक, रणबहादुर शाह स्वर्णपदक र जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्रदान गरिएको थियो । समारोहमा ल्यान्ड म्यानेजमेन्ट विषयमा पहिलोपटक पीएचडी उपाधि प्रदान गरिएको थियो ।

नेपालमै पहिलोपटक कार्यक्रम सुरु गरिएको बीई इन केमिकल इन्जिनियरिङका स्नातकहरू पनि त्यही कार्यक्रममा पहिलोपटक दीक्षित भएका छन् । स्कुल अफ लबाट बीबीएम एलएलबी गरेका स्नातकहरूलाई पनि त्यही कार्यक्रममा पहिलोपटक दीक्षित गरिएको छ ।

कार्यक्रममा दीक्षित भएकाहरु मध्ये अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्विडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विद्यार्थी विदेशी छन् । दुवै चरणको कार्यक्रममा पच्चीसौँ दीक्षान्त समारोहमा ३ हजार १ सय ५० जना दीक्षित भएका छन् । तीमध्ये १४ देशका २ सय ५९ जना विद्यार्थी विदेशी छन् ।

कार्यक्रममा सहकुलपति माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षता रहेको थियो । समारोहमा प्रमुख अतिथि प्रसिद्ध चिनियाँ वैज्ञानिक तथा थाइल्यान्डको बैङ्ककमा अवस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रेसिडेन्ट डा. इडेन वाई वुनले दीक्षान्त सम्बोधन गर्नु भएको थियो ।

हालसम्ममा काठमाडौँ विश्वविद्यालयबाट ३१ हजार ९ सय ४३ जना दीक्षित भएका छन् । २५ औ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रम २०७६ मसिंर ६ गते शुक्रबार चौकोटमा भएको थियो । विश्वविद्यालय अन्तर्गतका ७ वटा स्कुलमा १८ हजार ४ सय ३६ विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये विश्वविद्यालय अन्तर्गतका स्कुलहरूमा ८ हजार ४ सय ६५ र सम्बन्धनप्रदत्त कलेज÷संस्थामा ९ हजार ९ सय ७१ छन् ।