बसाइँसराइले गाउँ सुनसान, मौलिक संस्कृति मासिने डर

0
Shares

विमल विष्ट, डोटी ।

पछिल्लो समय ग्रामीण भेगका नागरिक आफ्नो जन्मथलो छाडेर तराई झर्ने क्रम बढेको छ । गाउँघरमै सिंहदरबार र दैलामा स्थानीय सरकारको नारा चलिरहे पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुरानो थातथलो छाडेर शहर पस्ने प्रवृत्ति दिनहुँ बढ्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा तथा डोटीबाट धेरैजसो कैलाली तथा कञ्चनपुर जिल्लामा बसाइँ सरिरहेका छन् । स्थानीयवासीको बसाइँसराइका कारण यहाँका ग्रामीण बस्ती करीब करीब सुनसान हुन थालेको बडीकेदार गाउँपालिकाका वडा नं ५ का टेकबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो – “हिजोआज पहाडबाट तराई जाने लहर चलेको छ जसले गर्दा गाउँबस्ती सुनसान हुन थालेका छन् ।” गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा यहाँका पहाडी बस्ती रित्तिँदै जान थालेका छन् ।

कतिपय स्थानीय तहले आफ्नो गाउँमा बसाइँ सरेर आउनेलाई आर्थिक अनुदान दिएर व्यापार व्यवसाय गर्न प्रेरित गरे पनि त्यसले पूर्ण रूपमा सार्थकता पाएको भने देखिँदैन । यसले गर्दा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लाबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति निकै बढेको स्थानीयवासी बताउँछन् । यहाँका हिमाली जिल्ला र पहाडी जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको छ । बसाइँ सरेकाहरू कैलाली र कञ्चनपुरका विभिन्न ठाउँहरुमा थुप्रिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो – “जन्मेको थातथलो छाडेर जाने प्रवृत्ति बढेको छ । बसाइँसराइका कारण जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको हो ।”

बसाइँसराइ न्यून गर्न स्थानीयस्तरमै अधिकतम रोजगारी उपलब्ध हुने गरी औद्योगिक विकास, सडक निर्माण, खानेपानी, सिँचाइ सुविधा, गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्थापन अत्यावश्यक रहेको तर, स्थानीय तहको प्रयासबाट मात्रै त्यो सम्भव नभएको बोगटान फुडिसल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडिसलाले बताउनुभयो । उहाँले भन्नुभया – “सडक, ठूला सिँचाइ आयोजना र औद्योगिक विकासलगायतका आयोजना आफै सञ्चालन गर्न र रोजगारी सिर्जना गर्न स्थानीय सरकार आफै सक्षम नभएकाले केन्द्र सरकार र प्रदेश सरकारले ध्यान दिन आवश्यक छ । गाउँमा रोजगारी नपाउँदा स्थानीय बासिन्दा बसाइँ सर्न थालेका छन् ।”

बसाइँसराइका कारण पहाडका खेतीयोग्य भू–भाग जङ्गलमा परिणत हुन थालेका छन् भने तराईको उर्वर जमीन घर घडेरीमा परिणत हुन थालेका छन् । यसले गर्दा सुदूरपश्चिम प्रदेशमा खाद्य सङ्कट, वन र वातावरण विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र स्रोतको प्रयोगमा अस्वस्थ प्रतिस्पर्धा बढेको स्थानीय जानकारहरु बताउँछन् । अव्यवस्थित बसोबास, सडक र ढलको अभाव, बेरोजगारी र असुरक्षा जस्ता समस्या शहरमा देखापर्न थालेका छन् । आर्थिक समु्न्नतिका आधार पहिल्याएर रोजगारीको अवसर सिर्जना नगरेसम्म पहाडी क्षेत्रबाट बसाइँ सर्ने क्रम नरोकिने डोटी बहुमुखी क्याम्पसका सहप्राध्यापक दिलानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो – “रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता कुरा सहज रूपमा नपाएर बसाइँ सरेको देखिन्छ । यी कुरा पहाडी जिल्लामा सहज बनाउन सरकारको ध्यान जानुपर्छ ।”

प्राथमिक विद्यालय, आधारभूत विद्यालय, स्वास्थ्य चौकी, सडक र बिजुली गाउँभरि नै विस्तार भए पनि रोजगारीको अवसर सिर्जना नहुँदा स्थानीय बासिन्दाको बसाइँसराइ नरोकिएको केआइसिंह गाउँपालिकाका जहरसिंह खवासले बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँघरमा रोजगारीको अवसर नहुँदा बसाइँसराइ बढिरहेको छ, रोजगारीको व्यवस्था गर्न सके बसाइँसराइ अवश्यै रोकिने छ ।” जिल्लाका ग्रामीण बस्तीमा फलफूल, अन्नबालीका लागि उपयुक्त वातावरण भए पनि निर्वाहमुखी मात्रै बनेका छन् । कृषि पेशा गर्नुभन्दा शहर वा तराई झरेपछि सानोतिनो रोजगारी मै अल्झिने प्रवृत्ति बढेको जोरायल गाउँपालिका वडा नं १ वडा सदस्य छपेशबहादुर मल्लले बताउनुभयो । कृषिको व्यावसायीकरणका साथै पेशासँगै स्थानीयवासीलाई रोजगारी दिन सरकारी र निजी क्षेत्रले ठूल्ठूला फर्म र स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योग स्थापना गरी दिए स्थानीयवासीलाई रोजगारीका लागि बाहिर जाने बाध्यता हट्ने उहाँको भनाइ छ ।

वर्षेनी हुने बसाइँसराइका कारण लोकसंस्कृति पनि मासिँदै जान थालेको छ । बस्ती नै सुनसान हुँदा पहाडी जिल्लामा मनाइने चाड पर्व, प्रचलित परम्परा र संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । पञ्चैबाजा, हुड्के नाच, पुतलापुतली नाच, लाखे नाच, भुँवा नाच, पुराना डेउडा नाचलगायतका संस्कृति विस्तारै हराउन थालेका छन् । पहाडी समुदायका मानिस निरन्तररूपमा बसाइँ सरेर तराई केन्द्रित हुँदा पहाडी संस्कृति मासिँदै जान थालेको दीपायल राजपुरका वृद्ध कुवेरजङ्ग शाहले बताउनुभयो । उहाँले भन्नुभयो – “बसाइँसराइसँगै यहाँका लोकसंस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन् । लोकसंस्कृति जोगाउन भए पनि अब बसाइँसराइ रोक्न जरुरी छ ।”

पहाडी क्षेत्रको रीतिरिवाज, चालचलनमा बसेका मानिस अर्कै ठाउँमा पुग्दा मौलिक संस्कृति स्वतः गुम्ने खतरा हुने गरेको सायल गाउँपालिकाका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो –“पहाडी क्षेत्रको संस्कृति तराईमा खासै प्रयोग नहुने भएकाले यहाँका मानिस तराई जाँदा त्यो संस्कृति त्यतिकै लोप हुन थालेको छ ।” पछिल्लो समय डोटीलगायत यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला, बैतडी तथा बझाङबाट तराई झर्ने मानिसको सङ्ख्या बढ्दो छ । बसाइँसराइसँगै पहाडका गाउँघर खाली हुने गरेका जोरायल गाउँपालिका–५ का डम्बर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो –“बसाइँसराइले बस्ती त खाली हुने नै भए, हाम्रा पहाडी संस्कृति लोप हुने भए ।” पहाडमा सामूहिक रूपमा मनाइने चाडपर्वलाई समेत बसाइँसराइले निकै प्रभाव पारेको उहाँको भनाइ छ ।

संस्कृतिका विषयमा जान्ने व्यक्तिहरूले बसाइँ सर्दा संस्कृति नै लोप हुने अवस्थामा पुगेको दीपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो –“संस्कृतिका विषयमा जान्नेहरु नै बसाइँ सरेर गए पछि पहाडमा कसरी संस्कृतिको जगेर्ना हुन्छ त रु” तराई बसाइँसराइसँगै आफ्ना मौलिक संस्कृति भुल्दै जाने क्रम बढेकाले कालान्तरमा पहाडी क्षेत्रको संस्कृति नै लोप हुने खतरा रहेको उहाँको भनाइ छ । यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उचित शिक्षा, स्वास्थ्य उपलब्ध गराउन सकिए पहाडको

बसाइँसराइको दर घटाउन सकिने सामुदायिक विकास मञ्च ९सिडिएफ० डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो – “नागरिकलाई उचित शिक्षा, स्वास्थ्य उपलब्ध गराउन सकिए बसाइँसराइ दर घट्नेछ, पहाडी क्षेत्रको विकास पनि हुने छ ।” यस क्षेत्रको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत कुरामा नागरिकको सहज पहुँच बनाउन स्थानीय तहले विशेष ध्यान दिनु जरुरी भएको उहाँको भनाइ छ । सङ्घ, प्रदेश र स्थानीय तहले गाउँको विकासमा बढी ध्यान दिएमा पहाडबाट हुने बसाइँसराइ रोक्न सकिने पूर्वअध्यक्ष सिंहले दाबी गर्नुभयो ।

पहाडी क्षेत्रमा आयआर्जन गर्न सकिने खालका कार्यक्रम अगाडि बढाउँदा यहाँको बसाइँसराइ रोक्न सकिने शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँमा स्थानीय नागरिकलाई लक्ष्य गरी आयमूलक कार्यक्रम मात्रै लागू गर्ने हो भने यहाँको बसाइँसराइ रोकिने छ ।”

–––