रोजगारमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता

0
Shares

काठमाडौं, (नेस)।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सिर्जना गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय र परिसंघ प्रतिनिधिमण्डलबीच भएको अन्तक्र्रियामा आपसी सहकार्यलाई गहन बनाउने प्रतिबद्धता जनाएको हो।

भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सिर्जना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनुपर्ने समय आएको बताउनुभयो।

स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालू उद्योगमा समेत परेको सन्दर्भमा रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि प्रतिबद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई पेश गर्नुभयो।

अध्यक्ष मोरले परिसंघका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा ग्यारेन्टी भएमात्र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताउनुभयो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले उद्योगी र श्रमिकबीच सौहार्दपूर्ण वातावतरण भए आर्थिक क्षेत्रको उत्पादकत्व पनि बढ्ने र यसले मन्त्रालयको उद्देश्य पनि पुरा हुने बताउनुभयो।

मन्त्री यादवले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।