संगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार


संगीतकार नातिकाजीका नाममा स्थापित नातिकाजी स्मृति समाजले बिहीबार उपराष्ट्रपति कार्यालयमा एक समारोह आयोजना गरी संगीत क्षेत्रमा योगदान पुर्याउने विभिन्न संगीतकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

नातिकाजी श्रेष्ठको ९५औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रमुख उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा संगीतकर्मीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो।

समारोहमा डा. समरबहादुर मल्ललाई २० हजार १ रुपियाँ नगदसहित नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान प्रदान गरिएको छ। त्यसै गरी गायनमा कर्म योञ्जन, जगतमर्दन थापा, भारती उपाध्याय, तीर्थकुमारी थापा, शम्भु राई, संगीत सिर्जनामा सीके रसाइली, मिलन मोक्तान र वाद्यनवादनमा मोहनकृष्ण ढलीलाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट सम्मानित गरिएको छ।

समारोहमा जनही ११ हजार १ सय ११ रुपियाँसहित संगीतकार सुरेश अधिकारी, गायक यम बराल, प्रमोद ढुंगाना र गायिका रेखा शाहलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार प्रदान गरियो भने संगीतकार मनराजा नकर्मी, गीतकार भूपेन्द्र खड्का, गायक प्रह्लाद तिमिल्सिना र गायिका टीका प्रसाईंलाई नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार प्रदान गरियो।

कार्यक्रममा नाजिकाजीको स्मृतिमा गायक यम बरालले नेपाली हामी, गायिका रेखा शाहले काली पारे दाइ, गायिका टीका प्रसाईंले फूलको थुंगा र गायिका उन्नति पाण्डेले रानी तलाउ किनार बोलका गीत गाएर सुनाएका थिए।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारको सम्मानमा राज्यस्तरबाट कमी भएको चर्चा गर्दै नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै नातिकाजी स्मृति समाजका अध्यक्ष एवं संगीतकार शम्भुजित बास्कोटाले नातिकाजीको योगदानलाई पुस्तौंसम्म अमर राख्न र स्रष्टाहरूको योगदानलाई सम्मान गर्न समाजले केही वर्षयताबाट स्मृति दिवसमा सम्मान कार्यक्रम आयोजना गर्दै आएको जनाए।