मिसेस युनिभर्समा नेपाली चेली

0
Shares

टुडेज उमन मिसेस नेपाल यूके बिनु लामिछानेले आगामी २२ देखि ३० डिसेम्बरसम्म चीनको गन्जाओमा हुने ४७औं मिसेस युनिभर्स २०१९ नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

लामो समयदेखि बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल यूके २०१८ विजेताका रूपमा मिसेस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्।

मिसेस नेपाल युनिभर्स २०१८ की विजेता एवं लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूकेको आयोजना गर्दै आएकी छिन्।

नेपाल र विदेशमा रहेका नेपालीका तर्फबाट यसपटक बिनुले चीनमा प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सको नेसनल डिरेक्टर मनिषाले बताइन्। प्रतियोगिताको तयारीका लागि बिनुलाई केही दिनयता कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटीलगायतको प्रशिक्षण दिइरहेका छन्।

मिसेस युनिभर्स २०१९ का लागि आफूले अहिले सम्पूर्ण तयारी गरिरहेको बिनुले बताइन्। बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरका रूपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी कोषाध्यक्ष पनि हुन्।लामो समयदेखि बेलायतमा विभिन्न संघसंस्थासँग जोडिएर सामाजिक सेवा गर्दै आएकी बिनु नेपालबाहिर रहेका नेपाली र नेपालको प्रतिनिधित्व गर्दै यसपटक मिसेस युनिभर्समा सहभागी हुन पाउँदा खुसी लागेको बताउँछिन्।

उनले यसपटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने बताएकी छिन्।