आनन्दको अवसान

0
Shares

यो साता नेपाली कला र फिल्म क्षेत्रका लागि दुःखद बन्न पुगेको छ। यो साता नेपाली कला र फिल्म क्षेत्रले लगातार कलाकारलाई गुमाउनुपरेको छ।

गत शनिबार अभिनेता दीपक क्षत्री र आइतबार अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई गुमाएको नेपाली कला क्षेत्रले मंगलबार पुराना हास्य अभिनेता आनन्द थापालाई गुमाएको छ।

प्यारलाइसिसका कारण दुई वर्षदेखि थलापर्दै आएका हास्य अभिनेता थापाको ८० वर्षको उमेरमा मंगलबार राती निधन भएको छ। उनको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

अन्तिम संस्कारका लागि उनीप्रति अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा उनको पार्थिव शरीर राखिएको थियो, जहाँकलाकारहरूले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनको परिवारमा श्रीमती र ३ छोरा छन्।

फिल्म मनको बाँधबाट अभिनय यात्रा शुरू गरेका उनले त्यसपछि मायाप्रिती, कुमारी, कान्छी, जीवनदाता, मलाई मन पर्यो, तँत साह्रै बिग्रिस् नि बद्री, वरदान, द प्लान, राज, ठूली, अचानक, इकु ब्याक अगेन, मृत्युञ्जयलगायत डेढ दर्जन फिल्ममा अभिनय गरेका थिए भने फिल्म कान्छीमा समावेश म त तिम्रो घनश्याम तिमी मेरी राधा पियारी बोलको गीतमा उनले गरेको शानदार अभिनयलाई अहिले पनि सम्झिने गरिन्छ।

उनले गाईजात्रा महोत्सव, विभिन्न हास्यव्यङ्ग्य टेलिफिल्म, स्टेज कार्यक्रम तथा नाटकहरूमा अभिनयका साथै लेखन तथा निर्देशनसमेत गरेका थिए।

प्रहसनका लागि समेत लोकप्रियता कमाएका उनी पछिल्लो समय छायामा पर्दै आएका थिए भने आर्थिक समस्याका कारण पीडाको जीवन बिताइरहेका थिए।