जब साैतेनी आमा नै निर्दयी भइन्

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

कल्पना गरौं त आफैले जन्म दिएको सन्तान मार्न कोही आमा तयार हुन्छ होला र तर भएको छ । पर्सामा तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने अन्य पाँच जना परिवारका सदस्य गम्भीर घाइते भएका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका २४ बहुअरीका जगदीश प्रसाद कुर्मीकी श्रीमती राधिका देवीले दुईदिनअघि तरकारीमा विष हाली आफू र आफ्नो परिवारका सदस्यलाई खुवाउँदा राधिकाको ज्यान गएको हो । विष प्रयोगबाट गम्भीर घाइते भएकी राधिकालाई उपचारको लागि वीरगन्जको तराई अस्पतालमा ल्याएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी विष प्रयोग गरिएको तरकारी खाँदा राधिकाको तीन वर्षीय छोरा विवेक प्रसाद कुर्मी, जगदीशका जेठी श्रीमतीका तीन छोरा र एक छोरी समेत गम्भीर घाइते भएका छन् ।घाइते उनीहरुको तराई अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा जेठी श्रीमतीका २० वर्षीय छोरा राकेश कुर्मी, १९ वर्षीय विकास कुर्मी, १७ वर्षीय मानसा पटेल र १६ वर्षीय विशाल पटेल रहेका छन् ।उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ । गहुँमा किरा मार्न प्रयोग गरिने अल्मुनियम फस्फेट नामक विषादी प्रयोग गरेको चिकित्सकले जनाएको छ ।मृतक राधिकाको शव परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।

घटना बारे अनुसन्धान भइरहेको पर्साको प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताउनुभयो । बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मानसीबीच झगडा हुँदा घटना निम्तिएको प्रहरीको भनाइ छ ।