आलुमय बन्दै गहुँ फल्ने फाँटहरु, एक सय ५० हेक्टर क्षेत्रमा आलुखेती

0
Shares

राम धामी, डडेल्धुरा ।

व्यवसायीक तरकारी उत्पादनका लागि अग्रणी मानिएको डडेल्धुरा जिल्लाका बिभिन्न बस्तीहरुमा चक्लाबन्दीमा व्यवसायीक आलुखेती बिस्तार गरिएसँगै गहुँ उत्पादन हुने उर्बर फाँटहरु आलुमय बन्न थालेका छन ।

हिउँदमा लटरम्म गँहुखेती फल्ने फाँटहरुमा जताततै आलुखेती मात्रै देखिन थालेको छ । अमरगढी नगरपालिका–११ फिन्नीकोट गाँउमा गहुँखेती बिस्थापित गरेर स्थानीयले चाक्लाबन्दीमा पुरै गाँउभरि आलुखेती गरिरहेका छन । गहुँ उत्पादन गर्दा हुने फसल भन्दा आलु झनै राम्रो फल्ने गरेको र गहुँ बर्षभरिलाई खानपुग्ने गहुँ खरिद गरेर पनि आलु उत्पादनबाट बार्षिक तीनलाख सम्म बचत गर्न सकिने भएकाले आलु उत्पादनमा लागेको स्थानीय अगुवा किसान पदम बोहराले बताए ।

अमरगढी नगरपालिकाकै राँवतगाँउ, सल्लागाँउ, भट्टराईगाँउ र दुमडा गाँउभरि चालु आर्थिक बर्षमा आलुखेती बिस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराले जनाएको छ । अमरगढी नगरपालिकामा मात्रै होइन, जिल्लाका सातओटै स्थानीय तहमा पछिल्लो समय व्यवसायीक रुपमा आलु खेती गर्ने किसानहरुको संख्या बढ्दै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण् परियोजनाले हाल जिल्लाका सातओटै स्थानीय तहमा चक्लाबन्दीमा आलु खेती बिस्तार गर्न थालेपछि अधिकांस बस्तीहरु आलुमय बन्न थालेका हुन । अमरगढी नगरपालिकामा मात्रै चालु आर्थिक बर्षमा २१ हेक्टर जग्गामा चाक्लाबन्दीमा व्यवसायीक आलु खेती भईरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत खेमराज जोशीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका अनुसार चालु आर्थिक बर्षमा मात्रै डडेल्धुराका थुप्रै गहुँ उत्पादन हुने खेतमा चाक्लाबन्दीमा आलु खेती बिस्तार गरिएको छ । नवदुर्गा गाँउपालिकाको बेल्तडा, बडेल, कुईतडा, डठिया, जाल र झतडा समुदायमा झण्डै १७ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका कृषि विकास अधिकृत गंगादत्त अवस्थीले जानकारी दिए ।

यसैगरि आलु उत्पादनका लागि अग्रणी मानिने गन्यापधुरा गाँउपालिकाको सकायल, डिल र कापडी समुदायमा ६ हेक्टर जमिनमा चाक्लाबन्दीमा आलुखेती गरिएको छ । जिल्लाकै अन्नभण्डार मानिने परशुराम नगरपालिका–४ अन्तर्गत कटाल, रज्यौडा, लटेरौडा, गोजाकटाल, पोखरी लगायतका समुदायमा ११ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।

भित्रिमधेस क्षेत्रकै आलिताल गाँउपालिका वडा नं. १ र २ का बिभिन्न समुदायमा साढे ६ हेक्टर जमिनमा व्यवसायीक आलुखेती गरिएको छ भने भागेश्वर गाँउपालिका–४ का बिभिन्न समुदायमा १२ हेक्टर क्षेत्रफलमा आलुखेती शुरुवात गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराले चालु आर्थिक बर्षको हिउँदे सिजनमा ६५ हेक्टर क्षेत्रफलमा आलुखेती बिस्तार गर्ने लक्ष्य लिएकोमा एक सय ५० भन्दा हेक्टर भन्दा बढि आलु खेती बिस्तार भएको छ ।

आलु उत्पादनका लागि उपयुक्त माटोका साथै बेमौसमी आलु उत्पादन गरेर मनग्गे मुनाफा आर्जन गर्न सकिने भएकाले किसानहरु व्यवसायीक आलुखेती तर्फ आकर्षित हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख जोशीले बताए । उनले व्यवसायीक आलुखेती प्रवद्र्धनका लागि किसानहरुलाई ४५ ओटा हाते ट्याक्टरका साथै यान्त्रिकरणमा परियोजनाले सहयोग गरेको जानकारी दिए ।

सिँचाई योजना निर्माणका साथै मर्मत सम्भारमा परियोजनाले सघाईरहेको छ भने स्थानीय तहसँग समन्वय गरेर किसानहरुलाई अनुदान र प्रावधिक सहयोगसमेत गरिरहेको छ । उत्पादित आलु भण्डारका लागि सित भण्डार निर्माण गरिएको र आलुको बिउ उत्पादनबाट समेत किसानहरुले मनग्गे आम्दानी गरिरहेकाले आलुखेती तर्फ स्थानीय किसानहरु आकर्षित भईरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराले जनाएको छ ।

परियोजनाले चाक्लाबन्दीमा आलु खेती बिस्तार गर्न थालेपछि गतबर्षसम्म ६९ हेक्टर क्षेत्रफलमा सिमित आलुखेती यसबर्षदेखि बिस्तार हुँदै गएको छ । अमरगढी नगरपालिका–१, २ र ३ वडाका किसानहरुले समेत यसबर्ष आलुखेती गर्ने उदेश्यले गहुँखेती लगाउन छाडेका छन । सो क्षेत्रमा माघदेखि चाक्लाबन्दीमा आलुखेती गरिने स्थानीय अगुवा कृषक हरिना बोहराले बताईन् ।