जनताको घरमै पुगेर नागरिकताको सिफारिस

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।

रामेछाप नगरपालिकाका नागरिकले सिंहदरबारको अधिकार गाउँ–गाउँमा बल्ल आएको महसुस गर्न थालेका छन् ।

रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोर बिर्ताबासीको घरमै पुगेर वडाध्यक्षले जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, जनजाति प्रमाणितको शिफारिस, नागरिकताको शिफारिस लगायतका कागजपत्र बनाइदिएपछि उनिहरुले सिंहदरबारको अधिकार गाउँमा मात्रै हैन आफ्नै घरमा आएको महसुस गरेका हुन् ।

वडा कार्यालयबाट प्रवाह हुने सेवासुविधा सहितको घुम्ती सेवा सिविर मार्फत गाउँमै नाता प्रमाणित बनेको खुसी व्यक्त गर्दै स्थानीय ढाल बहादुर श्रेष्ठले भन्नुभयो– ‘एउटा शिफरिस लिनको लागि ४–५ घण्टा लगाएर दिन माया मारेर वडा कार्यालय जानु पथ्र्यो, त्यहि पनि बन्ने नबन्ने निश्चित हुँदैन थियो, कुनै बेला त राती उतै बस्नु पर्ने बाध्यता हुन्थ्यो ।

हामीले भोट दिएर जिताएका जनप्रतिनिधिले सानो काम पनि आफ्नै गाउँमा आएर गरिदिनु हाम्रा लागि धेरै राम्रो हो, बल्ल हामीले स्थानीय सरकार भनेको के रहेछ भन्ने कुराको महसुस गर्न पाएका छौँ ।’ ९ वर्ष अगाडी सवारी दुर्घटनामा परेर आफू अपाङ्गता हुनु परेको पीडा सुनाउँदै आफू र आफू जस्ता स्थानीयको लागि गाउँमै आएर सेवा दिने काम अत्यन्तै उपयोगी भएको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै स्थानीय राम बहादुर हायुले भन्नुभयो–‘ गाउँका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत साना बालबच्चाका आमाहरुलाई वडा कार्यालय सम्म जान समस्या हुन्थ्यो । जसको कारण विभिन्न सेवाबाट बञ्चित हुनु पथ्र्यो, यो सेवा गाउँमै आए पछि सहज रुपमा हाम्रो काम भएको छ । यो सेवाले निरन्तता पाओस ।’

स्थानीय नागरिकको सहजतालाई ध्यानमा राखेर गाउँमै लगिएको सेवाको बारेमा जानकारी गराउँदै वडा नम्बर ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले भन्नुभयो– ‘हामी नागरिकहरुकै काम गर्नको लागि निर्वाचित भएका हौँ, एउटा शिफारिसकै लागि वडा कार्यालयमा आउँदा लाग्ने समय, खर्च जस्ता कुरालाई ध्यानमा राखेर महिनाको एक पटक टोल–टोलमा पुगेर सेवा दिनु हाम्रो कर्तव्य पनि ठानेको छौँ ।

यसरी गाउँमै आएर सेवा दिदाँ विभिन्न कारणले सेवा लिनबाट बञ्चित हुनपरेका नागरिकालाई थप टेवा पुग्छ । यो सेवा यस्ता बस्तीका लागि अति उपायोगी भएकाले यसलाई हामी निरन्तरता दिन्छौँ ।’ वडा कार्यालयबाट टाढा रहेका बस्तीहरुमा आवश्यकताको आधारमा यस्ता सिविर सञ्चालन गरिने वडाध्यक्ष कार्कीले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सोमबार वडाध्यक्ष समिर कार्की, वडासदस्य दिल बहादुर थापा, वडा सचिब उत्तम कुमार कार्की र प्रविधिक हरीचन्द्र बराल सहित विर्ता पुगेको टोलीले १५ वटा नागरिकताको शिफरिस, एक÷एक ओटा जन्मदर्ता , नाता प्रमाणित, विवाह प्रमाणित लगायतका काम गरको छ ।

स्थानीय सरकारपछि देखिएका विकासहरु

वडा कार्यालय बाट निकै टाढा रहेका वालिङ खोला, धनेघाट, खलडाडाँ र विर्तामा करिब ९० घरपरिवार लोपउन्मुख हायु जातीको बसोबास रहेको छ । वडा कार्यालयबाट सबै भन्दा टाढा रहेका उक्त ठाउँहरुमा स्थानीय चुनाब हुनु भन्दा पहिला सडक समेत पुगेको थिएन ।

जनप्रतिनिधिकै पहलमा अहिले उक्त बस्तीमा सडक पुगीसकेको छ । गाउँमा सडक पुगेसँगै त्यहाँका नागरिकहरु अहिले सवारी साधान प्रयोग गरेर वडा कार्यालय, नगरपालिकाको केन्द्र, सदरमुकाम मन्थली लगायतका विभिन्न ठाउँमा सहज रुपमा आवतजावत गर्न सक्छन् ।

त्यस्तै वडा कार्यालयकै पहलमा विद्युत नपुगेका केही ठाउँहरुमा समेत अहिले विद्युत पुगेर सबै बस्तीका नागरिकहरु उज्यालोमा रमाउन पाएका छन् । त्यति मात्र हैन स्थानीय सरकार आए पछि ति बस्तीहरुहमा खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता आधारभूत आवश्यकता समेत पूरा हुने गरी दिर्घकालिन योजनानै अगाडी बढाएर काम भइरहेको पनि पाइन्छ ।

वडा नम्बर ७ को वालिङ खोला, धनेघाट, खलडाडाँ र विर्तामा धेरै खेतियोग्य जमिन भएको तर सिञ्चाईको अभावमा किसानहरुले खेतीपाती गर्न छोडेको कारण नगरपालिकाले विर्ता वृहत लिफ्ट सिंचाई आयोजना मार्फत त्यहाँ रहेका जमिनलाई हरियाली बनाउने अभियानमा नगरपालिका जुटीसकेको छ ।

त्यस्तै तत्काल वडा कार्यालयले पनि साना सिञ्चाई आयोजना मार्फत बाँजो हुँदै गएको जमिनलाई हरियाली बनाउने गरी कामहरु अगाडी बढाइसकेको छ ।