होमस्टे अर्गानिक हुनु आवश्यक छः मुख्यमन्त्री गुरुङ

0
Shares

अमृत अर्याल, स्याङजा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दक्षिण एसियाकै पहिलो होमस्टे तथा पर्यटकीयस्थल स्याङजा शिरुबारीको होमस्टे अर्गानिक हुन आवश्यक रहेको बताउनुभएको छ ।

गुरुङले बाहिरबाट मासु ल्याएर होमस्टे नचल्ने बताउँदै स्थानीय उत्पादनलाई महत्व दिन सुझाब दिनुभयो । आँधिखोला गाउँपालिका वडा नम्बर १ सिरुवारीमा सामुदायिक भवनको शिल्यान्यास गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय सबै एक भएको खण्डमा शिरुवारीको पहिचान फेरीने बताउनुभयो ।

उहाँले उत्पादनमा जोड दिँदै होमस्टेलाई आवश्यक पर्ने कोदोको रोटी, ढिडो र मकैको रोटी हुनुपर्ने बताउँदै आवश्यक परेको खण्डमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य डा. गणेशमान गुरुङ, गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ र आधिखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल लगाएतले समाजको विकासका लागि सबै एक हुनु पर्नेमा जोड दिनुभयो ।

सामुदायिक भवन तिन करोड ९ लाखको लागतमा निर्माण गर्न लागिएको आधिखोला गाउपालिकाका सब इन्जीनियर विशाल क्षेत्रीले जानकारी दिनुभयो । तिन तला हुने उक्त समुदायीक भवनमा तिन सय जना अट्ने हल सहित पार्किङ र नौ कोठा रहने छन् ।

सोही कार्यक्रममा बनभोज स्थलको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशले डिभिजन बन कार्यालय स्याङजा मार्फत शिरुवारी होमस्टेलाई १५ लाख प्रदान गरेको डिभिजन बन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उक्त १५ लाखमा बनभोज स्थलको निमार्ण गरिएको डिएफओ काफ्लेले बताउनुभयो ।