खोटाङको उभोखोलामा ‘साहित्यिक जमघट’

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङमा गाउँकेन्द्रीत साहित्यिक जमघट सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विशेष साहित्यिक जमघट सम्पन्न भएको हो ।

उभोखोला भनेर चिनिने जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाखोला र तापखोलाको सेरोफेरोका भुगोलका श्रष्टाको पहलमा खार्मीस्थित कालिका माविको हलमा साहित्यिक जमघटको आयोजना गरेको हो ।

अधिकांश साहित्यीक कार्यक्रम सदरमुकाम केन्द्रीत हुने परिपाटीकाबीच ‘सेवा साहारा सामुदायिक संस्था’ खार्मीले गाउँमा साहित्यिक श्रष्टाको जमघट गराएको हो । कार्यक्रममा साहित्यकर्मी डिल्लीराम नाकारा, चित्र सुवेदी, भीम राई, धनचन्द्र राई, देवकुमार राई, रामधन बेदना, संगीता राई लगायतका १५ जना सर्जकले सिर्जना सुनाएका थिए ।

गाउँमा पनि साहित्यिक माहोल सिर्जना गर्नका लागि साहित्यीक जमघटको आयोजना गरिएको संस्थाका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

‘उभोखोले साहित्यिक समाज’ र ‘पैंचो प्रकाशन’

कार्यक्रममा श्रष्टा तथा पत्रकार रामधन वेदनाले ‘उभोखोले साहित्यीक समाज’ तथा धनचन्द्र राईले ‘पैंचो प्रकाशन’बारे अवधारणा प्रस्तुत गरेका छन् । यसअघि नै उभोखोले साहित्यिक समाज निर्माण गरिएको छ । धनचन्द्र राईको संयोजकत्वमा ११ सदस्यीय समाज गठन गरिएको हो ।

व्यक्तिको साहित्यिक वृत्ति विकासमा सामुहिक रुपमा सहयोग पुयाउने, साहित्य, विवेचना र बिश्लेषणप्रति श्रृजनात्मक र समालोचनात्मक बनाउन सहयोग गर्ने, लेखन प्रतिभालाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग गर्ने, लेखन कार्यमा सामुहिक नेतृत्व प्रदान गर्ने लगायतका काम गर्ने लक्ष्यकासाथ समाज गठन गरिएको हो ।

समाजका प्रत्येक व्यक्तिले आफ्नो रुचीको विद्यामा कृषि प्रकाशन गर्नुपर्ने छ । सो कृति प्रकाशनका लागि ‘एकका लागि प्रत्येक’ भन्ने सिद्धान्त अनुशार एक जना सदस्यको कृति प्रकाशनका लागि प्रत्येक जनाले एक पैंचो बराबर पाँच हजार सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्लाको ऐसेलुखर्कदेखि दक्षिण, रुपाकोटदेखि उत्तर, हौंचुर पुर्व र मैयुमदेखि पश्चिमभित्रको भुगोललाई ‘उभोखोला’को नामले चिनिन्छ । छुटै लवज भएको, संस्कार संस्कृतिभित्रको रसिलोपना, धार्मिक सहिष्णुता र सहयोगी मन भएका सोही भुगोलका स्थानीयलाई ‘उभोखोले’ भनेर चिनिन्छ । सोही क्षेत्रका साहित्यकर्मी एकजुट भएर उभोखोले साहित्यिक समाज गठन गर्न आवश्यक ठानिएको अवधारणापत्रमा उल्लेख छ ।