रामचन्द्रलाई कार्यकर्ताको प्रश्न, महाधिवेशन कहिले हुन्छ ?

0
Shares

सरोज यादव, विराटनगर ।

काठमाडौंमा कांग्रेस केन्द्रीय समितिको बैठक बहिष्कार गरेर पाथीभरा देवीको दर्शन गर्दे विराटनगर आइपुग्नु भएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन भएको दुई महिनामा बन्नुपर्ने विभागहरू कार्यकाल दुई महिना बाँकी रहँदा गठन हुन लागेको भन्दै मान्न नसकिने बताएका छन ।

मोरङ कांग्रेसले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले आफूले बैठक बहिष्कार नगरेको पनि बताउनुभयो । आवधिक चुनावमा जनताले निर्वाचनमार्फत् प्रतिनिधि चुन्ने प्रक्रिया जस्तै पार्टीमा पनि आवधिक महाधिवेशन हुनुपर्नेमा जोड दिदै पौडेलले आफूहरूले पार्टीका सभापति शेरबहादुर देउवालाई कार्यतालिका बनाएर महाधिवेशनको तयारी गर्न सुझाव दिए पनि सुनुवाई नभएको बताउनुभयो । उहाँले भन्नुभयो काबु बाहिरको परिस्थिति भए पो कार्यकाल थप्ने हो तर त्यस्तो त केही छैन । कात्तिक मसान्तमा कार्यतालिका बनाउने सहमति गरियो तर मंसिर मसान्तमा पनि बनेनन् ।’’ उहाँले महाधिवेशन कहिले गर्ने भन्ने हिसाबको टुंगो गरेर अघि बढन् सुझाव दिए पनि सभापतिले त्यसअनुसार काम नगरेको दाबी गर्नुभयो । भेटघाटमा सहभागी भएका कार्यकर्ताले पार्टीको भाविकार्यदिशा, नीति नियम र गुटबन्दीबारे जिज्ञासा राखेका थिए । सहभागिका अधिकांशले पार्टी महाधिवेशन कहिले हुन्छ ? भनेर जिज्ञाशा राखेका थिए ।

छलफलमा सहभागी प्रदेश १ प्रदेशसभामा काग्रेसका प्रमुख सचेतक केदार कार्कीले कांग्रेस नीतिनियमभन्दा पनि मनखुसी ढंगले सञ्चालन हुने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले पार्टीका गुटउपगुटको राजनीति धेरै भएको भन्दै केन्द्रीय कमिटीको बैठक नै बहिष्कार गर्ने अवस्था आउनु राम्रो संस्कार नभएको बताउनुभयो । उहाँ कांग्रेस आफ्नो नीति, सिद्धान्त र पार्टी विधानअनुसार चल्नुपर्ने माग गर्नुभयो । यस्तै विराटनगर महानगरपालिकाका मेयर रहेका भीम पराजुलीले पार्टीमा उत्पन्न विवादलाई समाधान गरिनुपर्ने सुझाव दिनुभयो ।

प्रदेश सांसद शेखरचन्द्र थापाले केन्द्रीय समितिको बैठक बहिष्कार गरेर विराटनगरतर्फ आएको भन्दै पौडेललाई यही संस्कार बस्दै जिल्ला, क्षेत्र, गाउँ र वडामा पनि पार्टी बैठक बहिष्कार गर्ने थिति बस्यो भने पार्टी कहाँ पुग्छ भनेर प्रश्न गर्नुभयो । उहाँले आफ्नो कुरा लागू हुने अवस्था नआए बैठक बहिष्कार गर्नेभन्दा पनि बरु ‘नोट अफ डिसेन्ट’ लेखेर असन्तुष्टि जनाउने र त्यसबारे कार्यकर्ता तथा जनतालाई जानकारी दिने गर्नु उचित हुने सुझाव दिनुभयो । प्रदेशसभामा कांग्रेस सचेतक सूयर्माराज राईले कांग्रेसले विचारलाई मूलधारमा ल्याएर राजनीतिक संस्कार अघि बढाउनु पर्ने सुझाव दिनुभयो । कांगे्रसभित्र विचार र सिद्धान्तको राजनीतिक संस्कारको पर्खाइमा हजारौं युवा रहेको भन्दै उहाँले अब विचारलाई प्रवाह गरेर पार्टी अघि बढ्नु पर्ने बताउनुभयो ।