महानगरलाई साइकलमैत्री शहरका रुपमा विकास गर्न कठिन: मेयर शाक्य


न्युज अफ नेपाल, काठमाडौं ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं महानगरलाई साइकलमैत्री शहरका रुपमा विकास गर्न कठिन भएको बताउनुभएको छ ।

काठमाडौं महानगरलाई साइकलमैत्री शहरका रुपमा विकास गर्न पूर्वाधारतर्फ काम गर्ने सडक बिभागलगायत अड्डासँग निरन्तर छलफल चलिरहेको बताउँदै प्रमुख शाक्यले ठूला सडक महानगरको क्षेत्राधिकारमा नभएकाले इच्छा र श्रोत भएर पनि काम गर्न कठिन भएको अनुभव सुनाउनु भएको हो ।

२५ औं महानगर दिवसका अवसरमा शनिबार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्मको रुटमा साइकल र्यालीको शुभारम्भ गर्दै मेयर शाक्यले एकीकृत र समन्वयात्मक बिकासका लािग महानगरले नेतृत्व गरिरहेको बताउनुभयो ।

काठमाडौंलाई साइकल सिटी बनाउने मेरो चुनावी घोषणा पत्रमा पनि उल्लेख थियो । त्यसमा म प्रतिबद्ध छु । तर, ठूला सढक महानगरको जिम्मामा नभएकाले सोच कार्यान्वयन हुन सकिरहेको छैन । सोच कार्यान्वयन गर्ने वातावरण तयार भइरहेको छ ।

साइकल मार्गसँगै पैदल यात्रीलाई सहजतापूर्वक हिँड्ने बाटो बनाउने, सढक सुरक्षा र पार्किङ् व्यवस्थापनमा एकीकृत कार्यक्रम गर्ने हाम्रो लक्ष्य हो, मेयर शाक्यको भनाइ थियो ।

त्यस अवसरमा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले साइकल यात्रालाई व्यवस्थापन गर्न सके सहरी यातायात, वातावरण र सहरी स्वास्थ्य सुधारमा सघाउ पुग्ने कुरामा आफू बिश्वस्त रहेको बताउनुभयो । साइकल यात्रीहरुको उत्साहलाई प्रबर्धन गरेर सहरलाई साइकल यात्रा गर्न सहज बनाउने प्रतिवद्धता जनाउनुभयो ।

काठमाडौंलाई साइकलमैत्री बनाउन महानगरको सहरी योजना आयोगले  मातीघरदेखि तीनकुनेसम्म लेन व्यवस्थापन गर्ने, अन्य ठाउँमा साइकल मार्ग तयार पार्दा आवश्यक पर्ने इञ्जिनियरिङ् सम्बन्धि जानकारी पुस्तिका तयार पार्ने र एउटा साइकल लेनलाई अर्को लेनसम्म सञ्जाल गर्ने गरी ३ वटा कामलाई प्राथमिकतासाथ अघि बढाएको छ । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले, सबैको सहभागितामा योजना प्रभावकारी कार्यान्वयन हुने बताउनुभयो ।

माइतीघरदेखि तीनकुनेसम्मको क्षेत्रमा साइकल गुडाउन आजभन्दा ६ बर्ष अगाडि नै काम थालिएको थियो । तर, गलत डिजाइनका कारण यो सञ्चालनमा आउन सकेको थिएन, नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले अनुभव सुनाउनुभयो ।

साइकलमैत्री सहर बनाउन पूर्वाधारको आवश्यकता जति छ, यसको साइकल प्रयोगकर्ताएको संख्यामा पनि वृद्धि हुन जरुरी छ । यसका लागि प्रबर्धनात्मक कार्यक्रम आवश्यक पर्ने भएकोले र्यालीको आयोजना गरिएको हो । सहरी योजना आयोगको सचिवालय प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ- ‘सबैका लागि सहर बनाउने हाम्रो अभियान हो ।’