शिक्षालाई विकाससँग जोड्न नसक्दा सामुदायिक विद्यालय रुग्ण उद्योग भएः मन्त्री पोखरेल

0
Shares

सरोज यादव, विराटनगर ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षालाई विकाससँग जोड्न आवश्यक रहेको बताउनु भएको छ । शिक्षालाई विकाससँग जोड्न सकेमात्र सार्वजनिक विद्यालय सवल हुने बताउनुभयो । बहुसंख्यक सार्वजनिक विद्यालय रुग्ण उद्योग जस्तो भएको मन्त्री पोखरेलले बताउनुभयो । सार्वजनिक विद्यालय विकाससँग जोड्न नसक्दा रुग्ण उद्योग जस्तो बन्न पुगेको उहाँले गुनासो गर्नुभयो । प्रेस संगठन मोरंगले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो ।

उहाँले विकाससँग जोडेका सार्वजनिक विद्यालय उदाहरणीय बन्दै गएको समेत बताउनुभयो । नेपालको शिक्षा ८० प्रतिशत साधारण र २० प्रतिशत व्यवसायिक भएकाले गुणात्मक हुन नसकेको उहाँले बताउनुभयो । हालै सार्वजनिक गरिएको शिक्षा नीतिले आगामी १० वर्ष्भित्रमा गुणात्मक शिक्षा बनाउने उद्देश्य लिएको मन्त्री पोखरेलले दावी गर्नुभयो । सरकारले पहिलो पटक ल्याएको शिक्षा नीतिले सार्वजनिक शिक्षाको सवलीकरणमा जोड दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ १० वर्षपछि अभिभावकको प्राथमिकतामा सार्वजनिक विद्यालय अगाडी आउनुपर्छ ।’

सरकारले ५ हजार शिक्षक भर्ती गर्ने तयारीमा रहेकाले शिक्षक भर्ती स्थानीय तहले गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ शिक्षा सेवा आयोग उत्तीर्ण नगरेकाका व्यक्ति शिक्षक हुन सक्दैनन ।’ आँफुलाई अद्यावधिक गर्न नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न पनि उहाँले सुझाव दिनुभयो । गुणात्मक र प्रविधिमैत्री नभएका व्यक्ति शिक्षक हुन नसक्ने मन्त्री पोखरेलको भनाई छ । आगामी २०८५ साल सम्ममा आधारभुत शिक्षा नभएका व्यक्ति नहुने उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आधारभुत शिक्षा नभएको व्यक्तिको बैकमा खाता पनि खोलिदैन र सरकारी सुविधापनि पाउँदैन ।’ सामुदायिक विद्यालयले अंग्रेजीलाई प्राथमिकता दिएर नेपाली भाषालाई कमजोर बनाउन नपाउने मन्त्री पोखरेलले बताउनुभयो । अपांगता भएका, दलित र विपन्नलाई उच्च शिक्षा सम्म नि स् शुल्कको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।