मोटरसाइकलमा सवा १० किलो चरेश


हेटौंडा, (नेस) ।

चरेश निकासी गर्न लागेको अबस्थामा मकवानपुरको भीमफेदीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध चरेशसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो । बिहीबार दिउँसो करिब पौने ३ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमातहत प्रचौ भैंसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भीमफेदी गाउँपालिका–२ बाट १० किलो २ सय ५० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ का अरबिन्दकुमार पटेल (मोटरसाइकल चालक) र आदर्श कोतवाल गाउँपालिका–१ का सुल्तान मिया छन् । पटेल र मियामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

भीमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित सडकमा सवारी चेकिङ गर्ने क्रममा भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको बा. ४० प ७२४० नम्बर पल्सर मोटरसाइकल चेक गर्दा उनीहरु पक्राउ परेका हुन् ।

मोटरसाइकल पछाडि बसेका मियाले बीचमा राखेर कालो झोलामा प्लास्टिकको टेपले बेरेको चारपाटे आकारका १० वटा पोकामा चरेश ल्याएका थिए ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनीहरुलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने कानुनी व्यबस्था रहेको एसपी सिंहले बताउनुभयो ।