२५ औ महानगर दिवसः सबै महानगरवासीलाई सहभागि हुन मेयरको अपिल


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । महानगरले भोली शनिवार र आइतबार विशेष कार्यक्रम मनाउन लागेको हो । आज बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरका प्रमुख एवं महानगर दिवस मुल समारोह समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले हरेक नगरबासीले आफ्नो दिवस भएको अनुभूति गर्न सकोस भनेर महानगर विवस मनाउन लागिएको जानकारी दिनुभयो ।

उहाले भन्नुभयो– महानगरबासीको दिवस भएको यो दिवसमा रपरम्परागत बाद्यबादन, बाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ । हामी बसन्तपुरको खुल्ला ठाउँमा दिवसका कार्यक्रम आयोजना गर्छौ । त्यस कार्यक्रममा सहभागी हुन हामी सबैमा खुल्ला निमन्त्रणा गर्दछौं । पत्रकारमार्फत सबै महानगरबासीलाई कार्यक्रममा सहभागी हुन मेयर शाक्यले निमन्त्रणा गर्नुभयो ।

कार्यक्रम अनुसार शनिबारर बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल ¥याली हुनेछ भने दिउँसो १ बजे रामहिटीमा नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ । उदघाटन संगै सो स्टेशनले महानगरको पुर्व क्षेत्रमा आगालागी भए त्यहीबाट सेवा दिन शुरु गरिनेछ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रमबा बारेमा जानकारी दिँदै मेयर शाक्यले शनिबार र आइतबार बसन्तपुरमा फोटो प्रदर्शनी, महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीहरुबाट तयार पारिएका बस्तु तथा सामाग्रीको प्रदर्शनी र मौलिक खाद्यबस्तुको प्रदर्शनी एवं बिक्री गरिने जानकारी दिनुभयो । कार्यक्रमा महानगरका पहिलो मेयर पिएल सिहलाई विशेष सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा कविता, निबन्ध तथा खेलकुद उपसमिति गठन गरिएको र ती समितिले आफ्ना—आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको मेयर शाक्यको भनाइ थियो ।

महानगर दिवसको उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने छ । त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारीलाई मासिक १५ हजार रुपिया उपलब्ध गराइने भएको छ । महानगरले इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने जनाएको छ ।

गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने , आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसले आपसी सद्भाव र आत्मीयतामा बृद्धि होस् भन्ने भन्ने उद्देश्यले आज जनप्रतिनिधि र कर्मचारीकाबीच डोरी तान्ने र घैंटो फोड्ने प्रतियोगिता हुँदैछ । त्यस्तै महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता हुनेछ । दिवसको अवसर पारेर सहयोगापेक्षी सडक मानवमुक्त अभियानको घोषणा हुँदैछ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।

२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस वर्ष २५ वर्ष पुगेको छ । कार्यक्रमको बारेमा जानकारी गराउदै सल्लाहकार राजेन्द्र स्थापितले यो वर्षको महानगर दिवसमा महानगरको इतिहास जोगाउनेको लागि सम्मान भएको जानकारी दिनुभयो । उहाले सो अवसरका १० जना पत्रकारलाई महानगर शुसासन पत्रकारीता पुरस्कार दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।