देशभर मौसम बदलीः कतै हल्का वर्षा, कतै भारी हिमपात

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहरको चपेटामा परेका छन् ।

बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको हो ।

हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेको छन् । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंसहित दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्जलगायत स्थानमा वर्षा भएको छ । बिहान ८ः४५ सम्ममा सबैभन्दा धेरै धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा १४ र डडेल्धुरामा ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा पनि शुक्रबार बिहान सामान्य वर्षा भएको छ ।

विभागका अनुसार, शुक्रबार देशभरको मौसम बदली भई हल्का तथा मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।