बालभिटा कार्यक्रमबाट १७ हजार बालबालिका लाभान्वित हुने



नेपाल समाचारपत्र, दार्चुला।

चालु आर्थिक वर्ष २०७६/०७७ को यसै महिनाबाट लागू भएको बालभिटा (आईमाम) कार्यक्रमबाट जिल्लाका पाँच वर्षमुनिका १७ हजार ४ सय ६३ जना बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

बालभिटालाई छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई हरेक छ–छ महिनामा दैनिक एक प्याकेटका दरले ६० प्याकेट बहुसूक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्दछ।

पाँच वर्षमुनिका बालबालिकामा शीघ्र कुपोषणका कारणले हुने मुत्यु र स्वास्थ्य समस्याको जोखिमलाई घटाउने तथा सूक्ष्म पोषक तत्वको कमीले हुने कुपोषण रोकथाम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा यो कार्यक्रम यसअघि नै सञ्चालनमा आएको भए पनि दार्चुला भने यस वर्षदेखि मात्रै सञ्चालन आएको हो। सञ्चालनमा आएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमबाट जिल्लाका छ महिनादेखि ५९ महिनासम्मका १३ हजार ३९ जना बालबालिका तथा बालभिटा कार्यक्रमबाट छ महिनादेखि २४ महिनासम्मका ४ हजार ४ सय २४ जना बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताउनुभयो।

नेपालमा सन् २०१६ को तथ्यांकअनुसार ५ वर्षमुनिका बालबालिकामा पोषणको कमीले १० प्रतिशत बालबालिका ख्याउटेपन, २७ प्रतिशत बालबालिका कम तौल र ३६ प्रतिशत बालबालिका पुड्कोपनको शिकार भएको उहाँको भनाइ छ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पाँच वर्षमुनिका ३५ दशमलव ९ प्रतिशत बालबालिका पुड्कोपन, ९ दशमलव ३ प्रतिशत बालबालिका ख्याउटेपन, २८ दशमलव १ प्रतिशत बालबालिका कमतौल र ४९ दशमलव ८ प्रतिशत बालबालिका रक्तअल्पताको शिकार भएको उहाँले जानकारी दिनुभयो।

५ वर्षमुनिका बालबालिकामा कुपोषण हुन नदिन कार्यक्रम सञ्चालन गरिएको हो। कुपोषणलाई कम तौल, सूक्ष्म पोषण तत्वको कमि, दीर्घ कुपोषण पुड्कोपन, र शीघ्र कुपोषण ख्याउटेपन गरी ४ भागमा वर्गीकरण गर्न सकिने उहाँले बताउनुभयो।

जिल्लामा ११ वटा बहिरंग उपचार केन्द्र स्थापना गरी शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो। जिल्लाको महाकाली नगरपालिकाको बंगाबगर सहरी स्वास्थ्य केन्द्र र धाप स्वास्थ्य चौकी, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल र देथला स्वास्थ्य चौकी, अपी हिमाल गाउँपालिकाको खण्डेस्वरी स्वास्थ्य चौकी, मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र स्थापना गर्ने उहाँले बताउनुभयो।

यस्तै नौगाड गाउँपालिकाको खार स्वास्थ्य चौकी, मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकी, लेकम गाउँपालिकाको रिठाचौपाता स्वास्थ्य चौकी, दुहुँ गाउँपालिकाको हिकिला स्वास्थ्य चौकी र ब्यास गाउँपालिकाको सुनसेरा स्वास्थ्य चौकीमा उपचार केन्द्र स्थापना गरिने उहाँले जानकारी दिनुभयो।

बालभिटालाई छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई हरेक छ–छ महिनामा दैनिक एक प्याकेटका दरले ६० प्याकेट बहुसूक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्दछ। कार्यक्रम सञ्चालनमा आएसँगै अब हरेक स्वास्थ्य संस्थामा बालभिटा निःशुल्क वितरण गरिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्