सुस्त मनःस्थितिका बालबालिकाको कल्याणसम्बन्धी एशियाली सम्मेलन, मंगलबार उद्घाटन


न्युज अफ नेपाल, काठमाडौं ।

के तपाईको घरपरिवार,टोल,छिमेक,इष्टमित्र र आफन्तहरुकहाँ सुस्त मनःस्थितिका बालबालिका छन् ? छन् भने तिनको हेरचाह र जिवीकोपार्जन कसरी चलेको छ ? तपार्इँले कहिल्यै ध्यान दिनुभएको छ ?

तपाईँ हामीजस्तै सामान्य आमाको गर्भबाट केही शारीरिक कमजोरीसहित जन्मिएका यस्ता बालबालिकाको शारीरिक,मानसिक विकास तथा कल्याणको भावनाले ओतप्रोत भएर तिनका अभिभावकहरुसहित समाजसेवीहरुले नेपालमा पनि सुस्त मनःस्थिति कल्याण संस्थाको स्थापना गरेका छन् ।

उदारमनका दाताहरुको केही दान,दातव्य सहयोग तथा अभिभावक, समाजसेवी र व्यवसायिक सीपयुक्त व्यक्तिहरुको संलग्नतामा स्थापना भएका यस्ता संस्थाले गाँउ शहरका सुस्त मनःस्थितिका बालबालिकाहरुलाई बटुलेर उनीहरुको रेखदेख गर्दै व्यवहारिक तालिम दिएर उनीहरुको जीवनस्तरमा सुधार ल्याउन प्रयास गरिरहेका छन्, ठाँउ ठाँउमा सुस्त मनःस्थिति कल्याण विद्यालयको स्थापना र सञ्चालन गरेर ।

नेपालमा जस्तै सुस्त मनस्थितिका बालबालिकाको कल्याण गर्ने उद्देश्यले एशियाका धेरै देशमा यस्ता संस्थाहरु स्थापना भएका छन् । एशियाका यस्ता संस्थाहरुको एक महासंघ पनि बनेको छ ।

राजधानीमा मंसिर १६ गतेदेखि सुस्त मनःस्थितिका बालबालिकाको कल्याणका क्षेत्रमा आआफ्ना देशमा भएका उपलब्धि,अनुभव,सिकिएका ज्ञान र सीपहरुको आदान प्रदान गर्ने उद्देश्यले एशियाली बौद्धिक अपांग महासंघको २४ औं सम्मेलन भैरहेको छ । सोमबार सम्मेलपूर्वका बैठक सम्पन्न भएका छन् ।

उपराष्ट्रपति नन्दकिशोर पुनबाट राजधानीमा अवस्थित याक एण्ड यति होटलमा उद्घाटन हुने सो कार्यक्रममा नेपाल, भारत, श्रीलंका, बंगालादेश, दक्षिण कोरिया फिलिपिन्स, इण्डोनेशिया, सिंगापुर, जापान, ताइवान, मलेशिया, मकाउ र थाईल्याण्डका गरी ३ सय ५० जना प्रतिनिधिहरु सहभागी हुने छन् ।

सम्मेलनको पूर्वसंध्यामा आयोजक एशियाली बौद्धिक अपांग महासंघ (Asian Federation on Intellectual Disabilites,AFID)ले सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै यस सम्मेलनबाट सुस्त मनःस्थितिका बालबालिकाको कल्याणका क्षेत्रमा यस क्षेत्रका देशहरुबीचमा आपसी ज्ञान, सीप, अनुभव आदान प्रदान भई एकपसमा सहयोग र समझदारी अभिबृद्धि हुने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा एशियाली बौद्धिक अपांग महासंघका अध्यक्ष डा. सच्चितानन्द श्रीवास्तवले सम्मेलनका अवसरमा १४ देशका राष्ट्रिय प्रतिवेदनमाथि छलफल हुने, ५ वटा प्लेनरी सेसनमा ३२ वटा विषयगत कार्यपत्रहरु प्रस्तुत गरी छलफल गरिने र अन्त्यमा काठमाडौं घोषणापत्र जारी गरिने बताउनुभयो ।

झण्डै ४ दशक अगाडि स्थापना गरिएको राष्ट्रिय सुस्त कल्याण मनस्थिति संस्थाले हाल २६ जिल्लामा ३७ वटा विद्यालय स्थापना र सञ्चालन गरी १० हजार १ सय २० जना बालबालिकाको हेरचाह र व्यक्तित्व विकास तथा जीविकोपार्जनका उपायहरु सिकाइरहेको उहाँले बताउनुभयो ।

उहाँले यस्ता विद्यालयमा रहेका बालबालिकाहरुको एकापसमा विवाह पनि सम्पन्न भएर परिवारमा पुनस्थापना भएको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा एशियाली बौद्धिक अपांग महासंघ २४ औं सम्मेलन आयोजका समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपालमा बौद्धिक अपांगता भएको व्यक्तिहरुको गणना नगरिए पनि विगतमा गरिएको नमूना सर्वेक्षणमा कूल जनसंख्याको ३.४ प्रतिशत अपांगता भएका व्यक्तिहरुको संख्या देखिएकोले १२ देखि १३ लाख बौद्धिक अपांग भएको जानकारी दिनुभयो । उहाँले बौद्धिक अपांगता भएका व्यक्तिलाई तालिम दिएपछि उनीहरुको जीवनशैलीमा सुधार भएको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था, नेपालका अध्यक्ष मुक्तिनाथ अधिकारीले स्रोत, साधन र जनशक्तिको अभावसंग जुधिरहेको संस्थाले देशभरका सुस्तमनस्थितिका बालबालिकाको कल्याणको लक्ष्य हासिल गर्नका लागि अहिले अनुकूल समय आएको बताउदै भन्नुभयो, स्थानीय तहमा आएका निर्वाचित जनप्रतिनिधिहरुले अपांगता भएका व्यक्तिहरुको सूचना दिने र तिनको कल्याणको लागि केही रकम स्थानीय निकायबाट जुटाउने बन्दोबस्त गरेमा देशभरका यस्ता बालबालिकाको एकसाथ कल्याणका कार्यक्रम गर्न सकिने बताउनुभयो ।

सन १९८१ मा १२ जना बालबालिकाको हेरचाहबाट सुरुभएको यस संस्थाको कल्याणकारी कार्यलाई कदर गर्दै जापानको एशियन रिसोर्स सेन्टरले १ लाख येनको पुरस्कार पनि प्रदान गरेको छ ।