वडाध्याक्षको सक्रियतामा तीनओटा चौतारा निर्माण


बुद्ध नेपाली, सिन्धुली ।

ग्रामीण भेगमा परम्परागत चौताराहरू नासिने क्रममा छन् । भएका वरपीपलका चौतारा मर्मतसम्भार अभावमा लथालिंग भएका छन् ।

सिन्धुलीको सुनकोशी गाउपालिका –५ का वडाअध्यक्ष कृष्णराज दाहाल (सन्तोष)ले भने नयाँ जुक्ति निकाल्नुभयो,‘वडा नं. ५ मा रहेका परम्परागत चौताराको मर्मत गर्दै संरक्षण गर्ने’ ।

चौतारा मर्मत गर्ने वडाअध्यक्षको योजनालाई वडाका स्थानीय, बुद्धिजीवी, व्यवसायी सवैले प्रशंसा गर्दै सकेको सहयोग गरे ।
काम सुरु भएको १५ दिन बित्न नपाउँदै अहिले वडा नं. ५ मा आकर्षक तीनवटा चौतारा बनेको वडाअध्यक्ष दाहालले बताउनुभयो ।

‘पुरानो चौतारा मर्मत–सम्भार गरेका छौं,’उहाँले भन्नुभयो, ‘ हार्डवयर सपलहरुले सिमेन्ट दिएका छन्, व्यवसायीहरुले सिमेन्ट, रड दिएका छन्, लर्ड बुद्ध ब्लक उद्योगले ब्लक दिएको छ, स्थानियले श्रमदान गरेका छन्, यसरी नै सहयोग जुटाएर चौतारा निर्माण गरेको छु’ ।

उहाँका अनुसार एक चौतारो मर्मतका लागि पचास हजार देखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च भएको छ । उक्त चौताराहरु सरकारी लगानी विना नै निर्माण भएका हुन् ।

वडा नं. ५ स्थित साविक पुरानो झाँगाझोली गाविस नजिक एक, वडा नं. ५ स्थित रामटारमा दुई गरी ३ ओटा चौतारा निर्माण गरिएको वडाध्याक्ष दाहालले बताउनुभयो ।

‘बालबच्चा देखि बुढापाका सम्मले बस्न मिल्ने चौतारा निर्माण भएको छ,’उहाँले भन्नुभयो ‘हिजो हाम्रो पुर्खाले बरपिपल रोपिदिएकाले आज बस्न लाएक छ, आज हामीले मर्मत, संरक्षरण गरे, भावी सन्तानहरुले पनि यसलाई प्रयोग गर्नसक्छन् भन्ने हेतुले चौतारा निर्माण गरिएको हो’ ।

चौतारा निर्माणलाई अभियानकै रुपमा अगाडी बढाउदै वडाका सवै चौतारा निर्माण गरिने र गाउपालिकामा रहेका चौतारा, पाटीपैवा, धारा, कुवा जस्ता पुराना सम्पदाहरुको संरक्षणमा पहल गर्ने उहाँले बताउनुभयो ।

सडक सञ्जाल विस्तार हुँदा तथा ग्रामीण भेगबाट बसाइसराइ गर्ने क्रम तीव्र भएसँगै चौतारो मासिने क्रममा छ । यसको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकता खड्किएको अध्यक्ष दाहालले बताउनुभयो ।

रामटारमा चौतारासँगै रहेको पुरानो पोखरीलाई बनाउन समेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो । विपी राजमार्गको किनारमै रहेकोले अहिले बनेका चौताराहरुमा यात्रुहरुलाई थकान मेट्ने विश्रामस्थलको रुपमा रहने बताउनुभयो ।

वर पिपलका चौताराहरुले धर्मिक रुपमा पनि विशेष महत्व राख्दछ ।

हिन्दु धर्म परम्पराअनुसार वरपीपल र समिसहितको चौतारा, पाटी—पौवा, धारा, कुवा र पोखरीलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । वरपीपल र समि धार्मिक कार्यमा प्रयोग गरिन्छ भने पिपललाई अक्सिजनको मुख्य स्रोत समेत मानिन्छ ।