मध्यमेवामा ९ अर्ब २६ करोड लगानी सम्झौता


न्युज अफ नेपाल, काठमाडौँ ।

स्वदेशी निजी क्षेत्रले ताप्लेजुङ्ग जिल्लामा निर्माण गर्न लागेको ४९ मेगावाटको अर्धजलाशय (पिकिङ्ग रन अफ रिभर (पीआरओआर) मध्यमेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी बिहीबार सम्झौता भएको छ ।

कूल अनुमानित लागत ९ अर्ब २६ करोड रुपैंया रहेको मध्यमेवामा स्वदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट ७५ प्रतिशत (६ अर्ब ९४ करोड रुपैंया) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ३२ करोड रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ ।

यसैगरी आयोजनामा बिजनेस अक्सिजनको प्रत्यक्ष वैदेशिक लगानीको रुपमा समेत स्वपुँजी लगानी हुनेछ ।

सर्वेक्षण अनुमति पत्र प्राप्त भएको तीन वर्षभित्रै प्रवद्र्धक कम्पनीले आयोजनाको सम्पूर्ण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माणको चरणमा पुर्याएको हो ।

उक्त सम्झौता अनुसार हिमालयन बैँकले लिड बैंकको रुपमा १५० करोड, नेपाल इनफ्रास्ट्रक्चर बैंकले सह लिड बैंकको रुपमा १५० करोड र सहभागी बैंकको रुपमा कुमारी बैंकले १२५ करोड, नेपाल एस. बि. आई. बैंकले १०० करोड, एन. सी. सी. बैंकले १०० करोड तथा सानिमा बैंकले ६९.५ करोड लगानी गर्नेछन ।

सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैँकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारीबैंकका तर्फबाट भुषण तण्डुकार,नेपाल एसबीआई बैंकका विनोद ढुंगेल, एनसीसीबैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका तर्फबाट सरोज गुरागाईंले हस्ताक्षर गरे ।

आयोजनाको प्रवद्र्धक कम्पनी मेवा डेभलपर्स ऊर्जा डेभलपर्स प्रा. लिको ग्रुप कम्पनी हो । ऊर्जा डेभलपर्स नेपालमा दीगो जलविद्युत् विकास गर्ने उद्देश्यले प्रतिष्ठित व्यावसायिक घरना सीई ग्रुप, ऊर्जाविद् भानु पोखरेल र ऊर्जा तथा जलनीतिविज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी हो ।

कम्पनी स्थापनाको तीन वर्षभित्रै ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीमार्फत आरम्भ गरेको दुईवटा जलविद्युत् आयोजना माइबेनी (९.५१ मेगावाट) र तल्लो जोगमाई (६.२ मेगावाट) अगामी एक वर्ष भित्र निर्माण सम्पन्न हुनेछ । कम्पनीले एक वर्षको अवधिमा वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण आरम्भ गर्न लागेको यो तेस्रो आयोजना हो ।

आयोजनाबाट स्थानीय वासिन्दासितको सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी माघ महिनादेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । उनले निर्माण थालनी भएको ४२ महिनाभित्र आयोजना पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए ।

प्रवद्र्धक कम्पनी मेवा डेभलपर्सका अध्यक्ष तथा सीई कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विजयबहादुर राजभण्डारीले जलविद्युत् क्षेत्रमा पछिल्लो समयमा विद्यमान प्रतिकूल वातावरणका बाबजुद मध्य मेवा आयोजनाका लागि स्वपुँजी लगानी गर्न सकिएको र नेपालका प्रतिष्ठित बैंकहरु ऋण लगानी गर्न तत्पर भएका कारण छोटो समयमा वित्तीय व्यवस्थापन गर्न सम्भव भएको बताए ।

उनले जलविद्युत् आयोजना न्यूनतम लागत, उच्च गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमा निर्माण गर्नेतर्पm ऊर्जा डेभलपर्स उन्मुख रहेको जानकारी दिंदै मुलुकको आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी आगामी दिनमा जलाशय (स्टोरेज) र अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गरिने बताए ।

‘हाम्रो कम्पनीले एउटै क्षेत्रमा साझा पूर्वाधार तथा संरचना स्रोत उपयोग (टेरिटोरियल क्यासकेड एण्ड करीडोर) गरी जलविद्युत् आयोजनाहरु निर्माण गर्दै जाने लक्ष्य लिएको छ,’ जलविद्युत्मा लगानीकर्ताले यथोचित् एवं न्यायोचित प्रतिफल पाउने गरी आयोजना निर्माण गर्न सकिने विश्वास लिएका अध्यक्ष राजभण्डारीले भने ।

अध्यक्ष राजभण्डारीले उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाहरु पनि विश्वस्त भएकाले छोटो समयमा लगानी सम्झौता सम्भव भएको उल्लेख गर्दै आयोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको सह्रना गरे ।

सीई कन्स्ट्रक्सन आवास विकास, पर्यटन र पूर्वाधार विकास तथा निर्माण क्षेत्र करिब तीन दशकदेखि सक्रिय छ ।
आयोजना सम्पन्न भएपछि सुख्यायाममा दैनिक ६ घण्टा पिकिङ(पूर्ण क्षमता) र वार्षिक २९०.७६ गिगावाट आवर (२९ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत आयोजनास्थल मिखुवाखोला गाउँपालिकादेखि करीब १४ किलोमिटर दूरीमा रहेको विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्र्तगतकोढुगेसांगु सबस्टेस्नमा जोडिनेछ । उक्त सवस्टेशन हाल प्राधिकरणले निर्माण गरिरहेको छ ।