कृषिमा आधुनिकीकरण बढ्दै, गोरु विस्थापित

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत। 

ग्रामीण क्षेत्रमा खेतीपाती लगाउनका लागि एक दशक अघिसम्म अनिवार्य गोरु पाल्नु पथ्र्याे। एक हल गोरु पालेर खेतीकिसानी नगर्ने घर परिवार बिरलै भेटिन्थे। आजभोली गाउँमा पनि गोरु पाल्न छाडेर कृषकहरूले पनि पावर टे«लर प्रयोग गर्न थालेका छन्। परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्दै गाउँमा आधुनिक कृषि उपकरणको प्रयोग बढ्न थालेको हो।

हलो जोत्ने, कोदालोले खन्ने किसान अहिले आधुनिक उपकरण प्रयोगमा अभ्यस्त हुन थालेका छन्। गाउँमा युवा विदेशमा जाने र गोरु पाल्न कठिन भएका कारण पनि कृषिमा आधुनिकीकरण बढिरहेको छ। फलेवास नगरपालिका–२ शंकरपोखरीका ज्ञानप्रसाद रेग्मी बिहान सबेरैदेखि आलु लगाउने ठाउँ तयार गर्न मिनी ट्रेलर चलाउनु हुन्छ।

गोरुले जोतेर आलु लगाउने ठाउँ तयार पर्दा ३/४ दिन लाग्ने गरेकोमा ट्रेलरले एकै बिहानमा काम सकिने अनुभव उहाँको छ। ‘युवाहरू रोजगारको लागि विदेश गएर अहिले गाउँमा महिलाहरू मात्र छन्, उहाँले भन्नुभयो– ‘यो बेलामा मिनी ट्रेलरले काम गर्न सजिलो भएको छ।’ गाउँका आधा मान्छेको जग्गा एउटै पावर ट्रेलरले काम सक्न थालेको छ।

कृषकहरूलाई व्यावसायिक बनाउन संघ र प्रदेश सरकारका कृषिसम्बन्धी सरोकार राख्ने निकाय र स्थानीय सरकारले पनि आधुनिकतामा जोड दिएका छन्। कुश्मा नगरपालिकाले चालू आर्थिक वर्षमा मिनी ट्रेलर खरिदका लागि बजेट विनियोजन गरेको छ भने आधुनिक कृषि प्रणालीलाई टेवा पुग्ने गरी ६३ लाख रुपियाँ बजेट छुट्याएको छ।

कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले नगरपालिकाले कृषिका लागि तयार पारेको योजनामा आधुनिकीकरणमा बढी जोड दिएको बतानुभयो। ‘हामीले आधुनिक मेसिनको प्रयोगमा बढी जोड दिएका छौं, कृषकहरूको माग पनि त्यस्तै रहेको छ’, उहाँले भन्नुभयो– ‘नगरपालिकाले तयार पारेको बजेटबाट ६३ लाख छुट्याएका छौं।’

पर्वतमा कृषि ज्ञान केन्द्र र स्थानीय तहले १ हजारभन्दा बढी मिनी ट्रेलर बाँडेका छन्। ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले पनि कार्यालयमा आउने कृषकहरूले आधुनिक उपकरणको माग धेरै गर्ने गरेको बताउनुभयो।

‘पर्वत जिल्लामा पनि अरु जिल्लामा जस्तै उपकरण माग्ने कृषकहरू धेरै हुनुहुन्छ, हामीले उहाँहरूको माग सुन्ने प्रयास गरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘सबैभन्दा बढी मिनी ट्रेलरको माग र दोस्रोमा कुटनी पिसानी गर्ने सानो मिल खोज्ने धेरै हुनुहुन्छ।’ किसानको रोजाइमा थ्रेसर, मिनी ट्रेलरको असारे फाली, खाडल खन्ने मेसिन, स्प्रे, चेनलगायतको सामाग्री परेका छन्।