भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदै 


काठमाडौँ ।
नेपाल हस्तकला महासङ्घको आयोजनामा बिहीबारदेखि भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदैछ ।

उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित बनाउन, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन संयोजनका बारेमा उद्यमी व्यवसायीमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । विसं २०४८ देखि महासङ्घले यस्तो मेला आयोजना गर्दै आएको हो ।

मेलामा हस्तकला प्रतियोगिता पनि हुने तथा उत्कृष्ट कक्ष तथा प्याभिलियन प्रतियोगिता हुने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा यही मङ्सिर १६ गतेसम्म मेला आयोजना हुँदैछ ।

हस्तकलाका उद्यमीबाट उत्पादित सामानको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । त्यस्तै नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताकाबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने उद्देश्य रहेको महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताउनुभयो ।

धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु प्रदर्शनीको आकर्षण रहनेछ ।

महासङ्घका अनुसार नेपाली हस्तकला वस्तुको आन्तरिक बजारमा करीब रु १० अर्ब बराबरको वार्षिक खरीद बिक्री भइरहेको छ । त्यस्तै नेपाली हस्तकलाको व्यापार रु १० अर्बभन्दा माथिको सामान तेस्रो मुलुकसहित विश्वका ८० भन्दाबढी मुलुकमा निर्यात भइआएको छ ।

नेपालमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशव्यापीरूपमा ११ लाख मानिसलाई रोजगारी दिइरहेको छ ।

विगतका वर्षमा भएको हस्तकला व्यापार मेलामा अवलोकनका लागि आएका ७५ प्रतिशत अवलोकनकर्ताले कुनै न कुनै हस्तकलाका सामान खरीद गरेको पाइएको छ ।

स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित अधिकतम प्रतिफल अभिवृद्धि हुने रोजगारमूलक उद्योग व्यवसायका रूपमा हस्तकलाको महत्व छ । हस्तकलाको वस्तुले देशको कला, संस्कृतिको मात्र प्रतिनिधित्व नगरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गौरवलाई उच्च तुल्याएको छ ।

मेलामा आठ वटा प्याभिलियनसहित करीब २०० कक्ष रहनेछ । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश आदि अन्तर्राष्ट्रिय व्यापारीको २० कक्ष रहनेछन् ।

मेलामा प्याभिलियनमार्फत नेपाल हातेकागज सङ्घ, स्वच्छ व्यवसायी समूह नेपाल आदिको सहभागिता रहनेछ । ती कक्षमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा तथा बाँसका सामान रहने बताइएको छ ।

मेलाबाट नेपाली उद्यमी व्यवसायीलाई न्यूनतम खर्चमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलामा सहभागी हुने अवसर प्राप्त हुनेछ । अमूर्त सांस्कृतिक सम्पदा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने वेषभूषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिनेछ ।

महासङ्घका अनुसार ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रममा १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सगुन दिई चाँदीको ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम छ । महासङ्घको कला तथा शिल्प परिषद् र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा प्रदर्शनीस्थल भृकुटीमण्डपमा ५० जना उत्कृष्ट कलाकारको कलाकृति प्रदर्शनी गरिनेछ ।
रासस