एसएलसी र स्नातकोत्तरका वोर्डफस्ट भूर्गववीद् प्रा.मल्लको निधन


न्युज अफ नेपाल, काठमाडौ ।

एसएलसी वोर्ड प्रथम भएका व्यक्तिको मंगलबार निधन भएको छ ।

वि.सं.२००३ सालको प्रवेशिका परीक्षा (एसएलसी) मा वोर्ड प्रथम स्थान हासिल गरेका वरिष्ठ भूगर्ववीद् प्राध्यापक उपेन्द्रमान मल्लको ८७ वर्षको उमेरमा आफ्नै निवास कुपण्डोलमा निधन भएको हो ।

स्व.प्राध्यापक खड्गमान मल्ल र स्व.प्राणमाया मल्लका जेठा छोराको रुपमा वि.स. १९८९ साल अर्थात २६ नोभेम्वर, सन् १९३२ मा काठमाडौंको वटु गुच्चाटोलमा जन्मिएका प्रा.मल्ल आफू जन्मेकै दिन अर्थात २६ नोभेम्वरकै दिन (२६ नोभेम्वर, २०१९) मंगलबार विहान हृदयाघातको कारण निधन भएको थियो ।

कुपण्डोलस्थित आफ्नै निवासको शौचालयमा बसेकै अवस्थामा हृदयाघात भई प्रा. मल्लको निधन भएको उहाँका भाई वरिष्ठ शल्यचिकित्सक सहायक रथि डा.मदनमान मल्लले बताउनुभयो । स्व.मल्लको पार्थीव शरीरलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । स्व.मल्लका एकमात्र छोरा सुरेशमान मल्लले उहाँको पार्थीव शरीरमा दागवत्ति दिएका थिए ।

स्व.प्रा.मल्ल एसएलसीमा मात्रै नभई सन् १९५३ मा भारतको पटना विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर तहमा पनि वोर्डफस्ट हुनुभएको थियो । उहाँ आइएस्सी र बिएस्सीमा पनि पहिलो हुनुभएको थियो ।

पटना विश्वविद्यालयबाट वोर्ड फस्ट भएपछि नेपाल फर्किनुभएका मल्ललाई त्यतिखेरका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको मन्त्री परिषदले सिधै वाणिज्य मन्त्रालयको उपसचिवमा नियुक्त गरेको थियो ।

तर केही समयमात्रै सो पदमा काम गरेर उहाँ बेलायतबाट पोष्ट ग्राजुयट (बि.लिट) अध्यनको लागि बेलायतको प्रशिद्ध अक्सफोर्ड विश्वविद्यालय जानुभएको थियो । जहाँबाट उहाँले भूगोल विषयमै उच्च अंकका साथ सो तह उतिर्ण गर्नुभएको थियो ।

बेलायतबाट आफ्नो अध्ययन पुरा गरि स्वदेश फर्किनुभएका प्रा.मल्लले त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पसमा भूगोल विषयको अध्यापन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयमा भूगोल विषयलाई व्यवस्थित रुपमा अध्यापनको लागि समेत विशेष पहल गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी र सामाजिक विज्ञान विभागको डीनसमेत रहनुभएका प्रा.मल्ल राष्ट्रिय योजना आयोगको सदस्य पनि हुनुभएको थियो । त्यस अवधिमा उहाँले विश्व स्वास्थ्य संगठनले अघि सारेको ‘सबैका लागि स्वास्थ्य’ भन्ने नारालाई सफल पार्न विशेष योगदान गर्नुभएको थियो ।

भौगोलिक रुपमा नेपाललाई १४ अञ्चलमा विभाजन गर्न विशेष भूमिका निभाउनुभएका उहाँ सरकारी सेवाबाट सेवानिवृत्त हुनुभएपछि नेपाल भौगर्भिक समाजको दुई कार्यकाल अध्यक्ष बनेर झण्डै डेढ दशकसम्म सो समाजलाई अगाडि बढाउनुभएको थियो ।

प्रा.मल्ल आफ्ना स्वर्गीय मातापिता स्व.खड्गमान मल्ल र स्व.प्राणमाया मल्लकोे स्मृतिमा स्थापित स्व.खड्ग—प्राण स्मारक सांस्कृतिक गुठीको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।

उहाँ बायोग्यास सेक्टर पार्टनरशिप नेपाल अन्तर्गत आकाशेपानी संकलन कार्यक्रमका संयोजककमो साथै रोटरी क्लव, नेपाल क्षयरोग निवारण संस्थालगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा संलग्न हुनुहुन्थ्यो ।

स्व.प्रा.मल्लको एकछोरा र एक छोरीका साथै चारजना नाति र एकजना नातिनी छन् । उहाँकी श्रीमतीको भने निधन भईसकेको छ ।