भारतले नेपाललाई पाकिस्तानको जस्तो व्यवहार गर्यो : देउवा



सरोज यादव, विराटनगर। 

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाउनुभएको छ। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो।

उहाँले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नु पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोज्नु भएको दाबी पनि गर्नुभयो। ‘कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर भारतले पनि मानेको हो,’ देउवाले भन्नुभयो– ‘अहिले अकास्मात कश्मीर विवादको हिसाबले पाकिस्तान र नेपाल एउटै जस्तो गरेर नक्सा जारी गरेको छ।’

महाकाली सन्धिमा पनि महाकाली नदी सीमा बाँधिएको बताउँदै देउवाले सीमा पूर्व कालापानी सीमा, पश्चिम इन्डिया रहेको र लिपुलेक पनि नदी पूर्व नै पर्ने भएकै कारण कालापानीको पानी आधाआधा गर्ने भनेर सहमति गरेको बताउनुभयो।

‘म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो– ‘सन्धिमा महाकाली नदी सीमा बाँधिएको हो, सीमा पूर्व हो कालापानी, सीमा पश्चिम हो इन्डिया, लिपुलेक काली नदी पूर्व हो।’ सन्धिमा काली नदी सीमानदी हो। पानी आधाआधा भनेर सहमति भएको हो उहाँले बताउनुभयो।

कालापानी, सुस्ता तथा लिपुलेकको विषयमा दलहरूले अभूतपूर्व एकता गरेर सरकारलाई अगाडि बढ्नभन्दा पनि काम अघि नबढेको भन्दै देउवाले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउनुभयो। ‘सबै दलले अघि बढ्नुहोस् भनेर प्रधानमन्त्रीलाई भनेका छौँ तर केही गर्नुभएको छैन, गर्नुपर्छ कि पर्दैन उहाँले ?

दलहरूबीच अभूतपूर्व एकता भयो सीमाको विषयमा नेपालमा सबै पार्टीले उहाँलाई सपोर्ट गरेको छ, काम अगाडि बढेको छैन,’ देउवाले भन्नुभयो– ‘अगाडि बढ्न भनेको सरकार अगाडि बढ्दै बढ्दैन।’ प्रतिपक्षी अगाडि बढ्दा पनि हुन्छ होला नि भन्ने प्रश्नमा उहाँले ‘प्रतिपक्षी एक्लै अगाडि बढ्न मिल्छ?’ भन्ने प्रतिप्रश्न गर्नुभयो।

आफूले बोलेको विषयमा दलबाटै विरोधभएको सन्दर्भमा देउवाले कालापानी भारतको भनेर कसैले नबोलेको कारण अरू विषयमा पार्टीमा यस्तो भइरहने बताउनुभयो।

सरकारले शाही आयोगजस्तो बनाउन खोज्यो अर्को प्रसंगमा सभापति देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो संवैधानिक परिषद्लाई अध्यादेशमार्फत परिवर्तन गर्न खोजे आफूलाई मान्य नहुने बताउनुभयो।

२०४८ सालदेखिको संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुपर्याे ? भन्दै देउवाले सरकारले आफूसँग झगडा गर्न, निउ खोज्ने काम गरेको दाबी गर्नुभयो। ‘अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो गर्न खोजिएको छ।

देउवा धरानमा हुन् लागिरहेको उपनिर्वाचनको सन्दर्भमा आयोजित कांग्रेसको जनसभामा उपस्थित हुन पूर्वनै आउनुभएको हो। ‘कांग्रेसले चुनाव जित्छ। कम्युनिष्ट पार्टीले सत्तामा आएपछि के गर्यो ? कर बढाएको छ, उपभोक्ता समितिको नाममा भ्रष्टाचार भएको छ, निर्मला पन्तको हत्यारा अहिलेसम्म खोज्न नसकेको भन्दै यो सरकारले केहि गर्न नसक्ने देउवाको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्