लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन शुरू



नेपाल समाचारपत्र, म्याग्दी।

‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित यसवर्षको लैङिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएको छ। दिवसको अवसर पारेर बेनी बजारमा सोमबार साँझ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाको संयोजनमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ।

कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए। यसैगरी कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लैङिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन सेतो रिबन वितरण गर्नुभएको थियो।

म्याग्दी जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू सहभागी दीप प्रज्ज्वलन कार्यक्रमको गैरसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो।

यसैबीच दिवसकै अवसरमा बेनी नगरपालिका–१, नम्बर वडा कार्यालय रत्नेचौरको आयोजना र रामचन्द्र माविको सहआयोजनामा अर्जममा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा लैङिक हिंसाले किशोरी महिलामा पार्ने असर, बालविवाहको असर र कानुनी पक्षका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रमको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन र सुआहाराका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरेका थिए।

कार्यक्रमको उद्देश्यमाथि बेनी नगर कार्यपालिका सदस्य गौरी थापामगरले प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्