नेकपा अध्यक्षको गोप्य भेट, प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश–३ को राजधानी र नामांकनको विषय छिटो टुंग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ ।

उहाँले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती उपयुक्त हुने पनि बताउनुभएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरु सँगको करिब पौने घण्टाको गोप्य भेटका क्रममा सुरक्षालगायत विभिन्न कारण प्रदेशको स्थायी राजधानी हेटौंडा नै उपयुक्त हुने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अबस्था रहेको बताउनुभयो । वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदाका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाइ छ ।

बैठकमा सहभागी प्रदेशका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाका अनुसार प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती तोकिने अध्यक्ष प्रचण्डले बताउनुभएको छ । बैठकपछि मन्त्री लामाले भन्नुभयो–प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा भन्नुभएको छ ।

प्रदेशको राजधानी र नामाकरणको विषयमा प्रचण्डले आफू काठमाडौं गएलगत्तै छलफल चलाएर टुङ्ग्याउने जानकारी गराउनुभएको बताउँदै बैठकका सहभागी प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो–नाम र राजधानी छिटै टुङ्ग्याउनुपर्छ । संघीयतालाई स्थायित्व गराउन पनि यो काम पनि छिटै गर्नुपर्छ । अहिलेको प्रस्तावमध्ये सुरक्षा र पूर्वाधारका हिसाबले हेटौंडा उपयुक्त हुन्छ भन्नुभएको छ ।

संघीयताको पहिचानको कुरा उठाएको बताउँदै प्रचण्डले छलफलका क्रममा भन्नुभयो–संघीयतामा पहिचानका कुरा हामीले उठाएका हौं । ताम्सालिङ, नेवाः हामीले नै भनेका हौं । बागमती सबैको साझा र सभ्यता भएकाले यही नाम उपयुक्त हुनसक्छ ।

‘कतिपय प्रदेशले नामाकरण र स्थायी राजधानी टुंग्याइसकेका छन् । बाँकी रहेकाको केही दिनभित्र टुंगिन्छ । अब यस विषयलाई द्विविधामा राख्नुहुँदैन,’ उहाँले भन्नुभयो । प्रदेशको नाम र राजधानीका विषयमा पहिले पार्टीमा छलफल गरेर संसद् बैठकले निर्णय गर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो ।

यसबारेको पूर्ण जिम्मेवारी र अधिकार भने संसद्को रहेको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो–राजधानी र नाम केही दिनभित्र टुंग्याउनैपर्छ भन्नेमा म छु, त्यसमा तपाईंहरुलाई सहयोग हुनेछ ।

बैठकका अर्का सहभागी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले भने प्रदेशको राजधानी र नाम के राख्ने भनेर गोप्य बैठकमा तोकिनसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–नेकपा केन्द्रीय नेताहरु नै हेटौंडामा राजधानी राख्ने विषयमा विभाजित छन् । प्रदेश संसद्मा मतदान हुनेछ, अनि राजधानी र नाम तोकिनेछ । प्रम केपी ओली र केही शीर्ष नेताहरु सहमत भएपछि मात्र हेटौंडा राजधानी तोक्न सकिनेछ । अरु विपक्षमा देखिन्छन्, कसरी सम्भव छ र ।

नेकपा मकवानपुरले मुख्यमन्त्री निवासमा गरेको कार्यकर्ता भेटका क्रममा अध्यक्ष प्रचण्डले छिटो भन्दा छिटो प्रदेशको नाम र राजधानीको टुंगो लगाइने जानकारी गराउनुभयो । नाम र राजधानीको काम सकिएपछि विकासका काममा लाग्नुपर्ने उहाँले औंल्याउनुभयो ।

कार्यकारी अध्यक्ष दाहालले पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरुको कार्यविभाजन गरिएको बताउनुभयो । केही दिनअघि सचिवालय बैठकले गरेको निर्णयबारे हेटौंडास्थित मुख्यमन्त्री निवासमा कार्यकारी अध्यक्ष दाहालले भन्नुभयो–पार्टीमा अलि ध्यान र जोड मैले दिने, सरकारमा अलि ध्यान र जोड अर्का अध्यक्षले दिने निर्णय गरिएको छ, त्यसैले म देशभर दौडिरहेको छु । देशभर दौडिनुको कारण यही हो ।

उक्त निर्णय गर्नुको पछाडि सरकार र पार्टीलाई राम्रोसँग सञ्चालन गर्नु रहेको प्रचण्डले बताउनुभयो । ‘ढुक्कसँग सरकार र पार्टी पनि राम्रोसँग चलाऔं भनेर यस्तो निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो–म अलि बढी पार्टीको काममा लागिपरेको छु । उहाँले देशमा ७२ वर्षदेखि रहेको राजनीतिक अराजकता हटाउन तत्कालीन एमाले र माओबादी केन्द्रबीच एकता भएको दाबी गर्दै हाल पार्टीले प्राप्त गरेको जनमतलाई सदुपयोग गर्न जरुरी रहेको औंल्याउनुभयो ।

१४ गतेको उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उहाँले उपनिर्वाचन हुने स्थानमा पुग्दा त्यहाँ चुनाब र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गर्नुभयो ।