लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु (फोटोफिचर )

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । दिवसको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीबजारमा सोमबार साँझ गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाको संयोजनमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ ।

कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । यसैगरी कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन सेतो रिबन वितरण गरेकी थिइन् । म्याग्दी जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहभागी दीप प्रज्ज्वलन कार्यक्रमको गैरसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

यसैबीच दिवसकै अवसरमा बेनी नगरपालिका–१, नम्बर वडा कार्यालय रत्नेचौरको आयोजना र रामचन्द्र माविको सहआयोजनामा अर्जममा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लैङ्गिक हिंसाले किशोरी, हजार दिनका महिलामा पार्ने असर, बालविवाहको असर र कानुनी पक्षका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन र सुआहाराका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि बेनी नगर कार्यपालिका सदस्य गौरी थापामगरले प्रकाश पारेकी थिइन् । वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, रामचन्द्र माविका शिक्षक यामबहादुर विकको सञ्चालन र विद्यार्थी अर्पना थापामगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।