चित्तल मारेको अभियोगमा एक पक्राउ

0
Shares

चितवन । चितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जङ्गली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ ।

चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो । ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत गरेको छ । बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो ।

प्रतिबन्धित जङ्गली जनाबर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार रु २० हजारदेखि ५० हजारसम्म जरिवान र ६ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

कुमरोज सामुदायिक वन नजिकै घर भएका ढुङ्गानालाई समय थप गरी अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।