लेखनाथ–दमौली २ सय २० केभि आयोजनामा जग्गा विवाद

जमिन्दार बाबुका छोरालाई सुकुम्बासीको जग्गा भन्दै आयोगमा उजुरी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

लेखनाथ–दमौली २२० किलोभोल्ट आयोजनाको सब स्टेशन बनाउन अधिग्रहण गर्न लागिएको जग्गामा विवाद उत्पन्न भएको छ । करिब १ सय ४० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको जग्गा मध्य सुकुम्बासी आयोगले वितरण गरेको जग्गामा विवाद भएको हो ।

यो आयोजनाले अधिग्रहण गर्न लागेको जग्गा मध्य यसअघि सुकु म्बासीको नाममा पाएको बारेमा छानविन गर्न सरकारी, सार्वजनीक गुठी जग्गा छानविन आयोगमा समेत उजुरी परेको थियो । गत श्रावण ५ गतेनै दर्ता गरिएको उजुरी माथि कुनै छानविन नभएपछि यो विषय अख्तियार आयोगमा समेत उजुरी परेको छ । अधिग्रहण गर्न लागिएको कित्ता नं १११ देखि १४० सम्मको जग्गा छानविन गर्न सरकारी, सार्वजनीक गुठी जग्गा छानविन आयोगमा समेत उजुरी परेको थियो । आयोगमा यो उजुरीको दर्ता नं ९ हो ।

जग्गा छानविन आयोगका एक सदस्यले जानकारी दिए अनुसार यस बारेमा अयोगले छानविन गरेपनि निष्कर्षमा भने पुग्न सकेको छैन । सव स्टेशन बनाउन व्यास नगरपालिका १३ साविक केशवटार गाविस ७ ‘च’ मा अधिग्रहण गर्न लागिएको जग्गा मध्य करिब १ सय २० रोपनी खेत रहेको छ । यो आयोजनामा सुकुम्बासीको नाममा पाएको जग्गा मात्र हैन न्युन मुल्याङ्कन गरिएको बारेमा पनि विवाद छ ।
यहा २०३५ साल देखि २०४० साल सम्म लम्जुङबाट पुख्र्यौली सम्पत्ति बेचबिखन गरि बसाईसरी आएका केहि परिवारले सार्वजनीक जग्गामा घर बनाएर बसेका थिए । ०५४ साल पछि सुर्यवहादुर थापा प्रधानमन्त्री हुदा त्यहाका राप्रपा नेता देवनीधि पन्त सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष हुदा बसाईसरेर आएकाको नाममा जग्गा दर्ता गरिएको थियो ।

यसरी दर्ता भएको कित्ता नं १११ देखि १४० मध्य कित्ता नं ११४को ५ रोपनी ११ आना ललित वहादुर पाण्डेको नाममा दर्ता भएको थियो । छोराले सुकुम्बासीको नाममा जग्गा दर्ता गराउदा बाबु दिलवहादुर पाण्डे गाउमा जमिन्दारको हैसिएतमा रहेको स्थानिय बासिन्दाहरुले आरोप लगाएका छन् । एकाघरको बाबु जिवित हुदाहुदै छोरा कसरी सुकुम्बासी भयो भन्दै सार्वजनीक जग्गा छानविन आयोगमा प्रश्न गरिएको छ ।

लेखनाथ–दमौली २२० किलोभोल्ट आयोजनाको सब स्टेशन बनाउन अधिग्रहण गर्न भैरहेको ३० फिटको मोटरबाटो छलेर ५० मिटरको फरकमा अर्को २४ फिटको बाटो बनाउने प्रस्तावमाथि पनि स्थानीय बासिन्दाको असन्तुष्ठि रहेको बताएका छन् । अर्को बाटो बनाउन तत्कालिन कर्लुङ गाविस ६ ‘घ’ को करिब ५ रोपनी जग्गा अघिग्रहण गर्न लागिएको विषयलाई पनि सिमिति व्यक्तिको स्वार्थको रुपमा हेरिएको छ । यो जग्गा अघिग्रहण गरि बाटो बनाउदा करिब ३० रोपनी जग्गा उच्च मुल्याङ्कनमा पर्दछ । एक स्थानिय बासिन्दाले जानकारी दिए अनुसार त्यो ३० रोपनी मध्य १०/१२ रोपनी जग्गा नापि कार्यालयका अमिन जिवन मन्थको नाममा छ ।

लेखनाथ–दमौली २२० किलोभोल्ट आयोजना जर्मनी सहयोगको करिब साढे ४ अर्बको योजना हो ।